भारतको जोधपुरमा अन्तर्राष्ट्रिय माहेश्वरी समाजको सम्मेलन, नेपाली प्रतिनिधित्व विशेष आकर्षण
राजस्थानः राजस्थानको जोधपुरमा अन्तर्राष्ट्रिय माहेश्वरी समाजको भव्य सम्मेलन आयोजना भइरहेको छ। सम्मेलनमा विश्वका ४० भन्दा बढी देशबाट माहेश्वरी समाजका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
यस सम्मेलनमा नेपालबाट पनि एक सय भन्दा बढी नेपाली माहेश्वरी नागरिकहरूको सहभागिता रहेको छ, जसमा महिला र पुरुष दुवैको सक्रिय उपस्थिति देखिएको छ। आज आयोजित शोभायात्रामा नेपाली प्रतिनिधिहरूले नेपाली राष्ट्रिय झण्डा बोकी, नेपाली टोपी पहिरिएर, महिलाहरू रातो साडी, रातो पोते र हरियो छड्केसहित नेपाली मौलिक वेशभूषामा सहभागिता जनाएका थिए। 'जय नेपाल' र 'जय महेश' को मधुर नारासहित प्रस्तुत भएको नेपाली टोली सम्पूर्ण दर्शकहरूको प्रमुख आकर्षणको केन्द्र बनेको थियो। यसले नेपालको गरिमा र सम्मानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।
यस भव्य सम्मेलनमा संसारभर र भारतभरका गरी ४० हजारभन्दा बढी मानिसहरूको उपस्थिति रहेको छ। सम्मेलनमार्फत माहेश्वरी समाजका सदस्यहरूलाई सेवाभाव, विनम्रता, पारिवारिक संस्कार, विकास र निर्माण व्यवसायमा उन्नत प्रविधिको प्रयोग तथा लगानीप्रति उत्साह अभिवृद्धि गर्ने सन्देश प्रदान गरिएको छ।
माहेश्वरी समाजलाई मारवाडी समुदायभित्र अग्रणी र प्रबुद्ध वर्गका रूपमा लिइन्छ। सम्मेलनका प्रमुख अतिथिहरूका रूपमा भारतीय गृहमन्त्री अमित शाह र लोकसभा अध्यक्ष ओम बिड्ला सहभागी रहेका छन्।
यो सम्मेलनले विश्वभर छरिएर रहेका माहेश्वरी समाजका सदस्यहरूबीच एकता, सहकार्य र सामाजिक तथा आर्थिक विकासको नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।