चैतन्य विद्यार्थी महोत्सवमा धनगढीका पन्तलाई ‘उत्कृष्ट कृषि पेसाकर्मी सम्मान’
धनगढीः चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कृषक र ग्रामीण समुदायको समृद्धितर्फ निरन्तर समर्पित रहँदै कृषि क्षेत्रमा नवप्रवर्तन, आधुनिक प्रविधि र दिगो विकासको अभ्यासमार्फत उल्लेखनीय योगदान पुर्याउँदै आएका कृषि क्षेत्र विशेषज्ञ रविनकान्त पन्तलाई ‘उत्कृष्ट कृषि पेसाकर्मी सम्मान’ प्रदान गरिएको छ।
कृषि ज्ञान, व्यावहारिक अनुभव र सामाजिक जिम्मेवारीमार्फत कृषकको जीवनस्तर उकास्न तथा उत्पादन प्रणालीलाई आधुनिक बनाउने दिशामा सक्रिय भूमिका निर्वाह गरेको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ। पन्तले कृषकलाई प्रविधिमैत्री बनाउँदै उत्पादन वृद्धि, बजार पहुँच र आयआर्जनका अवसर विस्तारमा निरन्तर काम गर्दै आएकोले उनलाई सम्मान गरिएको हो।
महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि चिन्तामणिनाथ योगी र चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले समुहीक रूपमा पन्तलाई सम्मान गरेका हुन्।
सम्मान ग्रहण गर्दै पन्तले कृषि केवल परम्परागत पेसा मात्र नभई उद्यमशीलताको ठुलो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै युवालाई कृषि प्रविधि, अनुसन्धान र व्यावसायिक सोचसँग जोडिन आग्रह गरेका छन्। यदि हामीले ज्ञान, प्रविधि र बजारलाई जोड्न सक्यौँ भने कृषि नै आत्मनिर्भर अर्थतन्त्रको आधार बन्न सक्ने समेत उनको भनाई रहेको छ।
विद्यार्थीलाई कृषि, विज्ञान र प्रविधिको संयोजनमार्फत भविष्यमा रोजगारी सिर्जना गर्न सकिने सन्देश दिन यस्ता व्यक्तित्वलाई सम्मान गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान प्रदर्शनी, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम तथा विभिन्न सम्मान समारोहहरू सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार आगामी दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।