सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निर्वाचन प्रहरी भर्नाका लागि आवेदकको घुइँचो

२०८२ पुष २७, ०२:१५ खबर संवाददाता

धनगढी: सरकारले ‘निर्वाचन प्रहरी’ भर्नाका लागि आवेदन खुला गरेसँगै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा आवेदकको ठूलो भीड लागेको छ। जिल्ला प्रहरी कार्यालयहरूका अनुसार निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक युवायुवती आवेदन दिन उल्लेख्य रूपमा उपस्थित भइरहेका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशभर १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिँदैछ। प्रदेशमा सबैभन्दा बढी निर्वाचन प्रहरी कैलालीमा र सबैभन्दा कम दार्चुलामा परिचालन हुनेछन्।

कैलाली जिल्लामा चार हजार ९८ जना निर्वाचन प्रहरीको माग रहेको छ भने दार्चुलामा ९३० जना भर्ना गरिनेछ। यस्तै, कञ्चनपुरमा दुई हजार ३२७, अछाममा एक हजार ६४२, बझाङमा एक हजार ५८०, बैतडीमा एक हजार ३७५, डोटीमा एक हजार १३६, बाजुरामा एक हजार ६० र डडेल्धुरामा एक हजार ४० जना निर्वाचन प्रहरी भर्ना गरिने जनाएको छ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन सम्पन्न गर्न प्रदेशभर एक हजार १७६ मतदानस्थल कायम गरिएको छ।
 

कमेन्ट लोड गर्नुस