सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमै सम्भव बन्दै जटिल हाडजोर्नी शल्यक्रिया

२०८२ पुष २७, ०२:२० खबर संवाददाता

डडेल्धुरा: संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले यहाँका नागरिकलाई लक्षित गरी जटिल प्रकृतिका हाडजोर्नीसम्बन्धी शल्यक्रिया सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्न थालेको छ । बाहिरका ठूला सहर वा जिल्लाबाहिर उपचारका लागि जाँदा बिरामी र परिवारले व्यहोर्नुपर्ने झन्झट र ठूलो खर्च पनि अब जोगिने भएको छ ।


अस्पतालमा हालै विभिन्न जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् । अमरगढी नगरपालिका–७ का ६५ वर्षका पुरुष बिरामीको तिघ्रा फेर्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ । यस्तै, अमरगढी नगरपालिका–१० का ७० वर्षका पुरुषमा देखिएको घुँडाको हड्डी भाँचिएको समस्याको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको छ ।


डडेल्धुराबाहिरका बिरामीले समेत अस्पतालबाट सेवा लिन थालेका छन् । बैतडीको शिवनाथ गाउँपालिका–३ की ६५ वर्षीया महिलाको घुँडासहित टिबिया र फिबुला हड्डी भाँचिएको जटिल अवस्थाको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ । त्यस्तै, दार्चुलाको लेकम गाउँपालिका–६ की २७ वर्षीया महिलाको पनि शल्यक्रिया गरिएको छ ।


अस्पतालका अनुसार पुस महिनाका २५ दिनमा जटिल प्रकृतिका ४० वटा शल्यक्रिया सम्पन्न भइसकेका छन् । तीमध्ये केही शल्यक्रिया सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गरिएको दाबी अस्पतालले गरेको छ । डडेल्धुरा अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि बिरामीले उपचारका लागि अन्यन्त्र धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ । डडेल्धुरा अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्दै गुणस्तरीय उपचारलाई निरन्तरता दिने तयारी गरेको जनाएको छ ।

कमेन्ट लोड गर्नुस