जनसहयोगमा शुक्लाफाँटामा क्रिकेट पूर्वाधार निर्माण हुँदै
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयको खेलमैदानमा जनसहयोग सङ्कलन गरी क्रिकेट पूर्वाधार निर्माण सुरु गरिएको छ।
कृष्णसार फाउन्डेसनको नेतृत्वमा आर्थिक सहयोग सङ्कलन गरी क्रिकेट मैदान तथा पिच निर्माण कार्य अगाडि बढाइएको हो। राज्यका तर्फबाट खेलकुद पूर्वाधारमा पर्याप्त लगानी नभएपछि स्थानीयस्तरमा सहयोग जुटाएर र नगरपालिकाको स्रोतसाधन प्रयोग गरी मैदान सम्याउने तथा पिच निर्माण भइरहेको फाउन्डेसनका अध्यक्ष विवेक रावलले जानकारी दिए। “खेलाडीहरू फुटेको पिच र च्यातिएको जालीमा प्रशिक्षण गर्न बाध्य थिए,” अध्यक्ष रावलले भने, “उनीहरूको समस्यालाई मूल्याङ्कन गर्दै हामीले टर्फ र सिमेन्ट गरी दुवै प्रकारका पिच निर्माण गरिरहेका छौँ।”
हाल मैदान सम्याउने र पिच निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। उक्त मैदानमा हाल महिला र पुरुष गरी क्रिकेटका ४० जना खेलाडी नियमित प्रशिक्षणमा छन्। प्रशिक्षणमा रहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेका आशिष लुहार, सुशील रावल, कैलाश ऐर, सुरज तिरुवा, सुवेश रावल, आशिका महरा, रविना धामी र मनिषा खत्रीलगायतका खेलाडीहरू आफैँ श्रमदानमा खटिएको प्रशिक्षक साजन गौतमले बताए।
“खेलाडीहरूले पिचमा ढुङ्गा मिलाउने, बोक्ने, माटो बोक्ने सम्याउने लगायतको कार्यमा सहयोग गरिरहेका छन,” उनले भने, “क्रिकेट पूर्वाधार निर्माणका लागि अझै आर्थिक अभाव भएकाले सहयोगी हातहरूको खाँचो रहेको छ।”
यसैबीच, निर्माणाधीन क्रिकेट मैदान र पिचको सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी र नेपाल क्रिकेट टोलीका छनोटकर्ता (सेलेक्टर) युनिल श्रेष्ठलगायतका टोलीले अनुगमन गरेका छन्। अनुगमनका क्रममा सेलेक्टर श्रेष्ठले खेलाडीहरू आफैँ खटिएर ‘टर्फ पिच’ निर्माणमा लाग्नु उदाहरणीय कार्य रहेको बताए।
सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष जोशीले यहाँका खेलाडीहरूले राष्ट्रिय टोलीमा पुगेर राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै पूर्वाधार निर्माण भएपछि थप प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।