सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना हुने

२०८२ पुष २८, १२:५८ नारायण अवस्थी

धनगढी: नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गर्ने सम्बन्धमा धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्ने निर्णयअनुसार उक्त समझदारी गरिएको हो। बोर्डको आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको जनाइएको छ।

समझदारीअनुसार धनगढी नगर विकास समितिले प्रदेश कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनेछ। साथै, भवनमा विद्युत्, खानेपानी र ढल व्यवस्थाको उपयुक्त व्यवस्था हुनुपर्ने उल्लेख छ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डले कार्यालय सञ्चालनका लागि भवनको सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा आवश्यक कार्यालय सामग्रीको व्यवस्थापन गर्नेछ। उपलब्ध भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटको शुल्क व्यहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहनेछ।

समझदारीपत्रको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको हुनेछ। आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ। कुनै कारणवश कार्यालय सार्नुपर्ने वा भवन खाली गराउनुपर्ने अवस्था आएमा कम्तीमा एक महिनाअघि कारणसहित लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ।

समझदारीपत्रमा उल्लिखित विषयमा कुनै संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने जनाइएको छ।

समझदारीपत्रमा धनगढी नगर विकास समितिका अध्यक्ष गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले हस्ताक्षर गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धनलाई संस्थागत रूपले अघि बढाउने दिशामा यो कदम महत्वपूर्ण मानिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस