कैलाली क्याम्पसको नवउद्यमी सम्मेलनमा रास्वपाको कलर ब्रान्डिङ, जताततै निलो नै निलो !
धनगढीः सुदूरपश्चिम प्रदेशमा नवीन व्यावसायिक सोच भएका युवा तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन २०८३’ मा राजनीतिक रङको चर्चा भएको छ। सरकारी संस्थाले आयोजना गरेको सम्मेलनको मञ्चदेखि सजावट र स्टलसम्म निलो रङ प्रयोग गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रङको ब्रान्डिङ गरिएको भन्दै सहभागीले असन्तुष्टि जनाएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन भने शनिबार गरिएको हो। उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टलगायतको उपस्थिति थियो।
उद्घाटनमा कार्यक्रमस्थलको रङ संयोजनले चर्चा पाएको थियो। सजावटमा प्रयोग गरिएका बेलुन, मञ्च, कुर्सी, ब्यानरदेखि प्रदर्शनीका स्टलसम्म अधिकांश सामग्री निलो रङका देखिएका थिए। राजनीतिक दलको पहिचानसँग जोडिएको रङ सरकारी शैक्षिक संस्थाको कार्यक्रममा प्रयोग भएपछि सहभागीबीच यसबारे कानेखुसीसमेत चलेको थियो। ‘राजनीतिक दलको पहिचानसँग जोडिएको रङको ब्रान्डिङ गरिएको छ,’ सम्मेलनमा सहभागी एक युवाले भने, ‘सबै कुरा संयोगले निलो हुन सक्दैन। यो रास्वपाको रङको ब्रान्डिङ गरिएको जस्तो देखिन्छ। सरकारी संस्थाको कार्यक्रममा यस्तो हुनु उचित होइन।’
कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताको उपस्थितिसमेत बाक्लो देखिएको सहभागीहरूको भनाइ छ। यद्यपि, सम्मेलनका कार्यक्रम संयोजक तथा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. राजेन्द्रबीर चन्दले भने कुनै राजनीतिक दलको रङलाई ब्रान्डिङ गर्ने उद्देश्य नरहेको बताएका छन्। ‘टेन्टवालालाई जिम्मा दिइएको थियो, उहाँहरूले कस्तो बनाउनुभयो, थाहा भएन,’ उनले भने।
‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने मूल नारासहित आयोजना गरिएको सम्मेलनको उद्देश्य भने सुदूरपश्चिममा उपलब्ध स्थानीय स्रोत, नवीन सोच, सीप, प्रविधि तथा बजारका अवसर पहिचान गरी तिनलाई व्यावहारिक, दिगो र लगानीयोग्य उद्यममा रूपान्तरण गर्नु रहेको आयोजकले जनाएको छ। सम्मेलनले प्रदेशका युवामा रहेका नवीन व्यावसायिक सोचलाई प्रोत्साहन गर्दै स्थानीय स्रोत र सीपको उपयोगमार्फत उद्यमशीलता विकास तथा लगानीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।