सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोप हुँदै थारु पोसाक

२०८२ पुष २८, ०२:३५ रासस

तुलसीपुर: कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा र पग्या लगाउने गर्थे भने विवाहित महिलाले डइनाहा र झुल्वा तथा अविवाहित महिलाले चोल्या र गोन्या लगाउने गर्थे। थारु समुदायले दैनिक रूपमा प्रयोग गर्ने यी पोसाकले उनीहरूको कला, संस्कृति र पहिचान झल्काउँथे।

तर अहिले थारु समुदायमा यस्ता मौलिक पोसाक लगाउने चलन निकै कम भएको छ। कुनै विशेष कार्यक्रम वा सांस्कृतिक सन्देश दिनुपर्ने अवसरबाहेक अन्य समयमा यी पोसाक देख्न मुस्किल पर्ने गरेको छ।

पहिला पोसाकले पहिचान झल्काउने भए पनि पछिल्लो समय पोसाक प्रयोग घट्दै जाँदा थारु र अन्य समुदायका व्यक्तिबीच फरक छुट्याउन नसकिने अवस्था आएको तुलसीपुरस्थित नमूना भुह्यारथान दाङका अध्यक्ष रामशरण चौधरीले बताएका छन्। “थारु समुदायका आफ्नै पहिचान र पहिरन थिए। हाम्रा पूर्खाले ती पहिरन प्रयोग गर्थे,” उनले भने, “तर अहिले ती हराउने अवस्थामा पुगेका छन्।”

उनका अनुसार अहिले बुढापाकाले मात्र यस्ता पोसाक लगाउने गरे पनि नयाँ पुस्ताले खासै चासो देखाएको छैन। पोसाक संरक्षणका लागि विभिन्न कार्यक्रम भए पनि ती औपचारिकतामै सीमित हुने गरेका छन्।

आधुनिक समाजसँग घुलमिल हुँदै जाँदा थारु समुदायले आफ्नै पहिचान संरक्षणमा पर्याप्त ध्यान दिन नसकेको चौधरीले बताएका छन्। “थारु समुदायका कार्यक्रममा केही व्यक्तिले मात्र मौलिक पोसाक लगाएको देखिन्छ,” उनले भने, “त्यसबाहेक अन्य समयमा लगाउने चलन छैन।” अहिले त थारु पोसाक लगाएको देख्दा आफ्नै समुदायका मानिसले समेत अनौठो मान्ने अवस्था आएको उनले बताए।

स्थानीय सरकार तथा सरोकारवाला निकायले थारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृति, पोसाक र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको चौधरीले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस