लास्कुगाड र निजाङ्गखोलाका पुल अझै बनेनन्, पुनर्निर्माण प्रक्रिया अलपत्र
दार्चुलाः चीनको ताक्लाकोट नाका जोड्ने सडकका रूपमा रहेको लास्कुगाडखोला पुल र निजाङ्गखोलामा निर्माण गरिएको पक्की पुल बाढीले बगाएको छ वर्ष बितिसक्दासमेत पुनर्निर्माण हुन सकेको छैन ।
महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुला–तिङ्कर सडकस्थित सदरमुकाम खलङ्गानजिकै रहेको सो पुलको पुनर्निर्माण नहुँदा यस क्षेत्रका नागरिक तथा सवारीसाधन जोखिम मोलेर खोला तर्न बाध्य छन् । खोला तर्दा दुर्घटना हुने जोखिम रहेको दुहुँ गाउँपालिका–२, हिकिलाका स्थानीय प्रेमराज जोशीले बताए।
बर्सातको समयमा खोलामा पानीको बहाब बढी हुने हुँदा सवारीसाधनसमेत चल्न नसक्ने उनको भनाइ छ । पुल अभावमा खोलाबाट सवारीसाधन चलाउँदा दुर्घटना हुन सक्ने जोखिम अत्यधिक रहने जिपचालक नीरज समालले बताए।
सदरमुकाम खलङ्गाबाट व्यास र दुहुँ गाउँपालिकासम्मको क्षेत्रमा पूरै कच्ची सडक छ । २०७९ भदौ २४ गते लास्कुखोलामा आएको बाढीले निर्माण भएर भुक्तानी हुन बाँकी पुल बगाएको थियो भने २०७८ भदौ १३ गते निजाङ्गखोलामा आएको बाढीले पनि पुल बगाएको थियो । दुई स्थानका पुलको पुनर्निर्माण हालसम्म पनि हुन नसकेको नागरिक समाज दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताए।
महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर सडक) योजनाका कार्यालय प्रमुख ईश्वर कार्कीका अनुसार बाढीका कारण क्षति भएको पुलको विशेषज्ञबाट स्थलगत अध्ययन गराई पुनर्निर्माणका लागि प्रक्रियामा रहेको छ । सडक विभागको पुल महाशाखामा अध्ययन प्रतिवेदन बुझाइसकेको तथा प्रतिवेदनको जानकारी नआएको उनले बताए।
उनका अनुसार निजाङ्गखोला पुलको पुनर्निर्माणका लागि गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख रुपियाँ बजेट प्राप्त भएको तथा कुनै काम हुन नसकेपछि रकम फिर्ता भएको छ ।