सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुँदै

२०८२ पुष २८, ०४:५३ रासस

काठमाडौँ: थारु समुदायको महान पर्व माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ। यो पर्व पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएको छ।

थारु कल्याणकारिणी सभा  केन्द्रीय समितिको संयोजन र ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा पुस ३० र माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सव आयोजना हुने भएको हो।

मुख्य आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले महोत्सवले थारु संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराएर नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउने विश्वास लिइएको उल्लेख गरेका छन्।

उनका अनुसार थारु समुदायमा माघी पर्व नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यका लागि गाउँको नेतृत्व चयन, समीक्षा तथा सामाजिक, सांस्कृतिक र धार्मिक पक्षमा महत्वपूर्ण मानिन्छ।

थारु समुदायले माघी आउनुअघि दुनाटपरी बनाउने र खानपानको तयारी गर्दै पर्वको तयारी गर्ने गरेको छ। पुस मसान्तमा सुङ्गुररबङ्गुर ‘जिता मार्ने’ चलन रहेको र सोही दिन आगोको धुनी बाल्दै डफ र मादलसहित धुमरु गाउँदै रातभर जाग्राम बस्ने परम्परा छ। माघ १ गते बिहान नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गर्ने चलन छ, जसलाई ‘माघ लहान’ भनिन्छ।

स्नानपश्चात पूजा र भाकल गरेर सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ। ढुङ्गाको महादेव बनाई जल, फूलमाला र सिक्का राखी पूजा गर्ने, अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई ‘निसराउ काढ्ने’ र घरपरिवार र इष्टमित्रमा ‘स्यावा ढोग’ लिँदै माघका मिठा परिकार खाने सांस्कृतिक प्रचलन चल्दै आएको छ।

थारु कल्याणकारिणी सभाले काठमाडौँमा विसं २०५९ देखि महोत्सव मनाउन थालेको हो। ‘थारु कला, संस्कृति, हाँसो, पहिचानस यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित महोत्सव मनाइन्छ। यसका मुख्य आकर्षणमा थारु समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन, समुद्घाटन समारोह, विभिन्न सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकार प्रदर्शनी र बिक्री, थारु सीप तथा हस्तकला प्रदर्शनी, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल र्‍याली, ‘जिता मर्ना’ र विशिष्ट थारु व्यक्तित्व सम्मान कार्यक्रम समावेश रहेको संयोजक चौधरीले बताए।

महोत्सवमा करिब १०० वटा स्टल रहने छन्। खानाका स्टलमा थारु जातिले माघी पर्वमा बनाउने ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटी लगायतका परिकारको स्वाद लिन सकिने बताइएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार थारु जाति चौथो ठूलो जाति हो। देशभरि २६ जिल्लामा फैलिएका थारु जातिको जनसङ्ख्या १८ लाख ७ हजार १२४ रहेको उल्लेख गरिएको छ। यद्यपि, थारु समुदायले वास्तविक जनसंख्या यस भन्दा बढी रहेको अनुमान लगाएको छ।


 

कमेन्ट लोड गर्नुस