सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन पूर्वाधारका टुक्रे योजनाः मुख्यमन्त्री र मन्त्रीकै निर्वाचन क्षेत्रमा बढी

२०८२ पुष ३०, ०९:०६ नारायण अवस्थी

धनगढी: प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि पर्यटन पूर्वधार विकासका तीन सय ३३ कार्यक्रममा बजेट हालेको  छ। जसमध्ये करिब २७ वटा शिर्षकमा आन्तरिक खरिद र गोष्ठी, भ्रमण र सेमिनारसँग सम्बन्धित छन्। सरकारले गोष्ठी, सेमिनार र भ्रमण तथा १० लाखभन्दा कम बजेट भएका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

यस्तै, उपभोक्ता समितिबाट समेत कुनै पनि योजना कार्यान्वयन नगर्ने भन्दै आएको छ।
पर्यटन पूर्वाधारका ३०५ योजना मध्ये कैलालीमा ९३ योजना छन् भने कञ्चनपुरमा ३५ योजना छन्।

पर्यटन पूर्वाधार विकास गर्ने भन्दै कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मन्दिर त्यसपछि चर्च र दुई वटा मस्जिद निर्माण गर्न प्रदेश सरकारले बजेट छुट्याएको छ। पहाडी जिल्लामा रहेका कुलदेवताका मन्दिर निर्माण गर्न बैतडीमा ४५ योजना, अछाममा २७ योजना, बझाङमा ३९, दार्चुलामा २२, डोटीमा २२, डडेल्धुरामा १६ र बाजुरमा ६ योजनामा घटीमा १० लाख तथा बढीमा एक करोड ५० लाख बजेट हालिएको छ।

कुलदेवतालाई पहाडबाट बसाइँसराइ गराउन प्रदेश सरकारले १० लाख बजेट भएका दुई सय योजना कार्यान्वयन गर्ने भएको छ।

कैलालीमा ९३ टुक्रे योजना कसका कति?
प्रदेश सरकारले पर्यटन पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षमा ल्याएका ३०५ टुक्रे योजना मध्ये कैलालीमा ९३ वटा योजना छन्। पर्यटन पूर्वाधारका सबै भन्दा बढी टुक्रे योजना कैलालीको लम्कीचुहा नगरपालिकामा छन्। लम्कीचुहामा २४ वटा योजना छन्। जसमध्ये  १३ वटा योजनामा दश लाखका दरले बजेट छ भने एक करोड पचास लाखको एउटा, पचास लाखको एक, २० लाखको  चार योजना तथा चार योजनामा १५ लाखका दरले बजेट विनियोज गरिएको छ। लम्कीचुहाको वडा नम्बर १, २, ३, ४, ५ र ७ मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्रमा पर्छ भने वडा नम्बर ६, ८, ९ र १० रामेश्वर चौधरीको निर्वाचन क्षेत्रमा पर्छ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा २० वटा पर्यटन पूर्वाधारका टुक्रे योजना परेका छन्। बर्दगोरिया गाउँपालिका तत्कालीन पर्यटन मन्त्री रामेश्वर चौधरीको निर्वाचन क्षेत्रमा पर्छ। चौधरीकै निर्वाचन क्षेत्रमा मोहन्याल गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ पर्छ। मोहन्यालको वडा नम्बर ६ र ७ भने मुख्यमन्त्री कमलबहादुर शाहको निर्वाचन क्षेत्रमा पर्छ। मोहन्यामा भने ७ पर्यटन पूर्वाधारका ७ वटा टुक्रे योजना परेका छन्।

 

कैलालीको टीकापुर नगरपालिकामा प्रदेश सरकारले पर्यटन विकासका ११ वटा टुक्रे योजनामा बजेट विनियोजन गरेको छ। जसमा टिकापुर विमानस्थलका लागि ७० लाख बजेट छ। विमानस्थल निर्माणको एकल अधिकार संघीय सरकारको भए पनि प्रदेशले समेत बजेट दिएको छ।

प्रदेश सरकारले धनगढीमा पर्यटन पूर्वाधार विकासका लागि ७ वटा योजनामा बजेट विनियोजन गरेको छ। यस्तै, जानकी गाउँपालिकामा चार, जोशीपुरमा तीन घोडाघोडी, गोदावरी, भजनी र कैलारीमा दुई/दुई योजनामा बजेट राखिएको छ भने गौरीगङ्गामा १० लाखको एक योजना परेको छ। चुरेमा भने प्रदेश सरकारले पर्यटनको कुनै योजना दिएको छैन।

 

कैलालीमा मुख्यमन्त्री शाहको भन्दा बजेट तयार गर्दा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका नागरिक उन्मुक्तिका प्रदेश सांसद रामेश्वर चौधरीका योजना बढी छन्।

अन्य मन्त्री र सभामुखको जिल्लामा कति?
आर्थिक वर्ष २०८१/८२ वार्षिक विकास कार्यक्रम पुस्तिकामा दिइएको योजनाको तथ्याङ्कअनुसार भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको जिल्ला बैतडीमा पर्यटन पूर्वाधारका ४५ वटा टुक्रे योजनामा बजेट विनियोजन गरिएको छ। बैतडीमा पनि मन्त्री पालको स्थायी बसोबास रहेको डिलासैनी गाउँपालिकामा बढी योजना छन्। उनको निर्वाचन क्षेत्र रहेको सुर्नाया, पुर्चौडी र पाटन नगरपालिकामा टुक्रे योजना परेका छन्। अन्य पालिकामा भने नगण्य योजना छन्।

प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको गृह जिल्ला बझाङमा पर्यटनका ३९ टुक्रे योजना परेका छन्। यस्तै सामाजिक विकास मन्त्री मेघराज खड्काको गृह जिल्ला अछामका २७ वटा टुक्रे योजनमा पर्यटन पूर्वाधार विकासको बजेट विनियोजन गरिपएको छ।

आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा तथा कृषि मन्त्री विरबहादुर थापाको गृह जिल्ला कञ्चनपुरमा पर्यटन पूर्वाधार विकासका ३५ योजना परेका छन्।

प्रदेश सरकारले पर्यटनका १६ वटा टुक्रे योजना डडेल्धुरामा छनोट गरेको छ भने डोटी र दार्चुलामा समान २२/२२ वटा योजनामा रकम विनियोजन गरिएको छ। प्रदेश सरकारले बाजुरमा भने पर्यटन विकासका जम्मा ६ योजना हालेको छ जसमा एक योजनामा ८ लाख मात्रै बजेट छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस