कांग्रेस संस्थापनपक्षद्धारा तीन पदाधिकारीमाथि कारबाही, यि हुन कारणहरु
काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको ठहर गर्दै महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि कारबाही गरिएको जानकारी दिएका छन्।
विश्वकर्माका अनुसार मुलुक विषम परिस्थितिमा रहेको र पार्टी महाधिवेशनको संघारमा पुगेको अवस्थामा ती पदाधिकारीहरूले विधानविपरीतका गतिविधि गरेको निष्कर्ष बैठकले निकालेको हो।
विशेषगरी फागुन २१ गते हुने संसदीय दलको निर्वाचन र महाधिवेशनको प्रक्रिया चलिरहँदा पार्टीको आधिकारिक निर्णयबिनै काठमाडौंमा छुट्टै भेला आयोजना गरेको, कार्यकर्तालाई उत्तेजित बनाएको तथा समानान्तर गतिविधि सञ्चालन गरेको आरोप उनीहरूमाथि लगाइएको छ।
कारबाहीका मुख्य आधार
नेपाली कांग्रेसको विधान २०१७ ९संशोधनसहित० को धारा ३४ को उपधारा १ तथा धारा ५० ९५० आकर्षित हुने गरी कारबाही गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए। बैठकले कारबाहीका लागि चार प्रमुख आधार प्रस्तुत गरेको छ।
पहिलो, केन्द्रीय कार्यसमितिको संस्थापन पक्ष तथा पार्टी कार्यालयसँग सहमति नगरी विधानका धाराहरूको गलत व्याख्या गर्दै काठमाडौंमा विशेष कार्यक्रम तथा भेला आयोजना गरिएको।
दोस्रो, मिति २०८२र०९र२९ मा ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ भन्दै अनधिकृत रूपमा पारित गरिएको र महामन्त्रीद्वयले संयुक्त प्रतिवेदन पेस गरी छलफल गराइएको।
तेस्रो, समानान्तर निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको र मिति २०८२र०९र३० मा महामन्त्री पदमा रहेका पदाधिकारीले पार्टी सभापति तथा अन्य पदमा उम्मेदवारी घोषणा गरी दरखास्तसमेत दिएको।
चौथो, पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कार्य गर्दै पार्टीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हानि पुर्याइएको।
यी गतिविधिहरू पार्टी विधानको धारा ३४ ९१० को खण्ड ९क०, ९ख०, ९ग० र ९घ० विपरीत रहेको ठहर गर्दै विधानको धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ बमोजिम उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो।
बैठकका तीन प्रमुख निर्णय
बैठकले केन्द्रीय कार्यसम्पादन समितिले हालसम्म गरेका सम्पूर्ण निर्णयहरू सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको छ।
त्यसैगरी पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको निष्कर्षसहित महामन्त्री गगन कुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ।
निष्कासनमा परेकाबाहेक अन्य पदाधिकारी तथा सदस्यहरू, जो भ्रमवश वा लैलैमा लागेर पार्टी हितविपरीत गतिविधिमा संलग्न भएका थिए, उनीहरूलाई पार्टीको मूलधारमा फर्कन र नियमित पार्टी काममा सक्रिय हुन बैठकले आग्रह गरेको छ।
कारबाही फुकुवा हुने सम्भावनाबारे पत्रकारको जिज्ञासामा प्रवक्ता विश्वकर्माले सम्बन्धित व्यक्तिले चित्तबुझ्दो स्पष्टीकरण वा पुनरावेदन दिएमा केन्द्रीय कार्यसमितिले भविष्यमा सुनुवाइ गर्न सक्ने ढोका खुला रहेको संकेत गरेका छन्।