गेटामा एमबीबीएस सञ्चालनको निर्णय खारेजको माग गर्दै आएका डा. केसीद्वारा अनसन बस्ने चेतावनी
धनगढीः सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेज गर्नुपर्ने माग गर्दै आएका प्रा. डा. गोविन्द केसीले सरकारलाई दुई दिनको थप समय दिएका छन्। माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने उनले चेतावनी दिएका छन्।
डा. केसीले गत कात्तिक २ गते सरकारलाई सात दिनको अल्टिमेटम दिएका थिए। दसैँ बिदाका कारण माग सम्बोधन गर्न सरकारलाई पर्याप्त समय नपुगेको भन्दै उनले अल्टिमेटमको अवधि दुई दिन थपेका हुन्।
थपिएको समयभित्र पनि माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अघि बढाउने उनले बताएका छन्। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको भनाइ छ।
डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटाको विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन्। यस्तै, नेपाली आर्मी मेडिकल कलेजसहित विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णयसमेत बदर गर्नुपर्ने उनको माग छ।
त्यस्तै, निर्णय प्रक्रियामा संलग्न आयोग र विश्वविद्यालयका पदाधिकारीमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा अयोग्य र स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई बर्खास्त गर्न उनले माग गरेका छन्।