सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुपका राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

२०८२ पुष ३०, ०६:५४ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय सभा सदस्य बलदेव बोहराको आज दिउँसो निधन भएको छ। कम्मरको शल्यक्रियापछि उपचाररत रहेका बोहराको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर बेदकोट निवासी बोहराको जन्म २००८ साल जेठ ६ गते भएको थियो। हाल उनी ललितपुरको महालक्ष्मीस्थानस्थित इमाडोलमा बसोबास गर्दै आएका थिए।

वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका बोहरा भिमदत्त पन्त र वीपी कोइरालाबाट प्रभावित थिए। राजनीतिक संघर्षका क्रममा उनले पाँच वर्ष जेल जीवनसमेत बिताएका थिए। उनी कञ्चनपुर कांग्रेसका संस्थापक नेतामध्ये एक थिए।

प्रजातन्त्र स्थापना भएपछि २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापतिका रूपमा उनले जिम्मेवारी सम्हाले। २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक सल्लाहकार बनेका बोहरा २०७० सालमा संविधान सभा सदस्यसमेत निर्वाचित भए।

संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेका बोहराले त्यसबेला प्रतिनिधिसभा अन्तर्गतको विकास समितिमा रहेर समेत काम गरेका थिए।

कमेन्ट लोड गर्नुस