तिङ्कर नाका खुला र नियमित बनाउन माग
दार्चुलाः नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन दार्चुलाको व्यास गाउँपालिका–१ का जनप्रतिनिधिले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्।
यहाँका जनप्रतिनिधि र स्थानीयले ओलीको भक्तपुर निवासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्। दार्चुला–चीन (तिब्बत) सिमानामा अवस्थित तिङ्कर नाका कोभिड महामारीको समयदेखि अनियमित भएको छ। कहिले सञ्चालन हुने कहिले नहुने अवस्था छ। त्यसलाई स्थायी रूपमा सञ्चालन गर्नका लागि पहल गर्न पूर्वप्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। परापूर्वकालदेखि नै दार्चुलावासीको व्यापारमार्गका रूपमा यो नाका हाल सुचारु नहुँदा दैनिक व्यवहार गर्न पनि असहज भइरहेको भन्दै नियमित सञ्चालनका लागि पहल गरिदिन निवेदन बुझाएका हुन्।
व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराका अनुसार स्थानीय समुदाय र व्यापारिक गतिविधिका लागि नाकाको नियमित सञ्चालनले व्यापार, श्रम, सांस्कृतिक आदानप्रदान र सामाजिक समृद्धिमा विशेष योगदान पुर्याउने विश्वास गरिएको छ। निवेदनमा सुरक्षा र दुईपक्षीय सहमतिको पूर्णतालाई ध्यान दिँदै तिङ्कर नाकालाई साबिक झैँ सहज रूपमा खुला गर्न चीनसँग समन्वय गरिदिन भनिएको छ।