सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिन्धुलीमा नक्कली पेस्तोल देखाए बैङ्क लुटपाट

२०८२ माघ २, ०६:२१ खबर संवाददाता

काठमाडौँः नेपाल एसबिआई बैङ्क लुटेका लुटेराहरुले सुरक्षा गार्डलाई देखाएको पेस्तोल नक्कली रहेको खुलेको छ। उनीहरुले प्रयोग गरेको पेस्तोल नक्कली भएको प्रहरीले पुष्टि गरेको हो।

केटी भगाउने भन्दै गाडी बुक गरेर सिन्धुली पुगेका लुटेराहरुले पूर्व योजनाअनुसार बैङ्क लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको सिन्धुली प्रहरीले बताएको छ। घरमा रङ लगाउने काम गर्ने मजुदरहरुले विशेष योजना बनाएर, बनेपाबाट गाडी बुक गरी बैङ्क लुटेको तथ्य खुलेको छ।

उनीहरुमाथि थप अनुसन्धानका लागि म्याद थप गर्न सदरमुकाम ल्याइएको छ। उनीहरुले प्रारम्भिक अनुसन्धानका क्रममा आफ्ना साथीहरुसँग मिलेर बैङ्क लुट्ने योजना बनाएको र सोहीअनुसार सिन्धुली आएको बताएको प्रहरीले जानकारी दिएको छ।

नेपाल एसबिआई बैङ्क लुट प्रकरणमा बैङ्क रहेको घरका घरधनीको समेत संलग्नता देखिएको प्रहरीले बताएको छ। लुटाहरूको बयानका आधारमा घरधनीलाई समेत पक्राउ गरिएको छ। बैङ्क लुटेपछि जङ्गल भागेका उनीहरुले जंगलभित्रै पैसा गाडेको भेटिएको छ। स्थानीयहरुले गाडेको ठाउँबाट पैसा झिकेर प्रहरीलाई बुझाएका छन्। 

लुटेराहरुले दिएको प्रारम्भिक बयान अनुसार प्रहरी पिछा लागेको थाहा भएपछि उनीहरुले बैङ्कबाट लुटिएको पैसा जङ्गलमा गाडेका थिए। रातभर जङ्गलमा बसेका उनीहरु भोक लागेपछि चाउचाउ र रेड बुल किन्न भन्दै जङ्गलबाट निस्किएका थिए। तर, त्यहीँ उनीहरु समातिए।

मंगलबार बेलुकी ६ः३० बजेतिर बैङ्क लुटिएको थियो। बैङ्कबाट लुटिएको कुल ३ करोड ११ लाख रुपैयाँमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ भेटिएको छ भने बाँकी अझै भेटिएको छैन। 
 

कमेन्ट लोड गर्नुस