सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन दशकदेखि अलपत्र पञ्चेश्वर आयोजना अघि बढाउन नेपाल–भारत सहमत

२०८३ मंसिर ७, ०५:०३ खबर संवाददाता

धनगढीः तीन दशकदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने विषयमा नेपाल र भारतबीच फेरि सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर शीघ्र टुङ्ग्याएर कार्यान्वयन प्रक्रिया अघि बढाउने सहमति गरेका हुन्।

दिल्लीबाट जारी नेपाल–भारत संयुक्त प्रेस वक्तव्यमा दुवै देशका प्रधानमन्त्रीले पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई डीपीआर शीघ्र अन्तिम रूप दिन निर्देशन दिएको उल्लेख छ। डीपीआरलाई अन्तिम रूप दिएलगत्तै आयोजना कार्यान्वयनको काम सुरु गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन्।

नेपाल र भारतबीच २०५२ सालमा महाकाली सन्धि भएपछि पञ्चेश्वर आयोजनालाई संयुक्त परियोजनाका रूपमा अघि बढाउने सहमति भएको थियो। महाकाली नदीको पञ्चेश्वरमा बाँध निर्माण गरी ६ हजार ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, रुपालीगाडमा अर्को बाँध निर्माण गरेर थप २४० मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ।

तर, आयोजना निर्माणका लागि सहमति भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयनको चरणमा पुग्न सकेको छैन। आयोजनाको डीपीआरमै नेपाल र भारतबीच सहमति जुट्न नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो।

यसबीच नेपालका अधिकांश प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्राथमिकताका साथ उठ्ने गरेको छ। हरेकजसो भ्रमणमा आयोजना अघि बढाउने विषयमा छलफल र सहमति हुने गरे पनि व्यवहारमा भने प्रगति हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस