सुदूर नेपाललाई विश्वसँग जोड्दै

खडेरीले हिउँदेबालीमा क्षति

२०८२ माघ ३, १२:३० रासस

दशरथचन्द: लामो समयदेखि परेको खडेरीका कारण बैतडीमा हिउँदेबाली सुक्न थालेका छन्। महिनौँदेखि पानी नपर्दा बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका किसान चिन्तित बनेका छन्।

पानी नपरेका कारण गहुँ, जौ, मसुरो, तोरी, केराउलगायत हिउँदेबाली सुक्दै गएका छन्। सिगास गाउँपालिका–९ का किसान जनक बोहराले खडेरीका कारण बाली सुकेको बताए। “असोजयता पानी परेको छैन। लामो खडेरीले हिउँदेबाली सुकाएको छ,” उनले बताए।

सिँचाइ सुविधाको अभावमा धेरैजसो किसान आकाशे पानीकै भरमा खेती गर्दै आएका छन्। सिँचाइ सुविधा भएका स्थानमा समेत बाली मर्न थालेको छ। खोलानालामा पानी सुकेकाले कुलो सञ्चालन हुन नसकेको र यसले हिउँदेबालीमा थप क्षति पुगेको मेलौली नगरपालिका–६ का किसान चिन्तामणि भट्टले बताए।

हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नपाउँदै सुक्न थालेको सुर्नया गाउँपालिका–६ का किसान पदम भट्टले बताए। बाली लगाउने समयमा पनि पानी नपर्दा बीउ नै उम्रिन नसकेको उनले बताए।

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार जिल्लामा २५ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ। जसमध्ये १० हजार ९०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ। जिल्लामा १५ हजार ४०० हेक्टरमा गहुँ, ७०० हेक्टरमा जौ, ३०० हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र पाँच हेक्टरमा केराउ खेती हुँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस