सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका सुर्नया र पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प

२०८२ माघ ३, ०५:१८ खबर संवाददाता

बैतडीः बैतडीका दुई स्थानीय तह सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामकाज ठप्प भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सेवा प्रवाह प्रभावित बनेको हो ।

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि पद रिक्त छ । मन्त्रालयले पुस ६ गते खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाए पनि उनले पालिकामा हाजिर नगरी जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा पाएका थिए । त्यसयता पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट खर्च, योजना सम्झौता, भुक्तानी लगायतका आर्थिक–प्रशासनिक काम रोकिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनका अनुसार पालिकाका नियमित कामकाज नै प्रभावित भएका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा कात्तिक अन्तिम साता कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीलाई मेलौली नगरपालिकामा सरुवा गरेपछि उक्त पालिका पनि प्रशासकीय अधिकृतविहीन बन्यो । दुई महिनासम्म मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि पालिकाको कामकाज ठप्प भएको अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

अध्यक्ष चन्दले मन्त्रालयमा धर्ना बस्ने चेतावनी दिएपछि पुस १४ गते बिरसिंह भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको थियो । तर सरुवा भएको १९ दिन बितिसक्दा पनि भण्डारी पालिकामा हाजिर नभएको अध्यक्ष चन्दले जानकारी दिए ।

पालिकामा शिक्षा शाखा प्रमुख महामल घटाल अधिकृतस्तर सातौँ तहका वरिष्ठ कर्मचारी भए पनि उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । लामो समय एउटै कार्यालयमा रही काम गर्दा प्रभावकारी कार्यसम्पादन गर्न कठिन हुने उल्लेख गर्दै उनले पुस ९ गते मन्त्रालयलाई पत्र पठाई अन्य कर्मचारीलाई आर्थिक–प्रशासनिक जिम्मेवारी दिन अनुरोध गरेका थिए ।

अध्यक्ष चन्दले मन्त्रालयकी सचिव पार्वती शर्मालाई ह्वाट्सएपमार्फत पत्र पठाउँदै विना विकल्प कर्मचारी सरुवा गरिएपछि तीन महिनासम्म पनि प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नसकिएको भन्दै प्रश्न उठाएका छन् ।

यसैबीच, पञ्चेश्वरमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आफू विदामा रहेकाले सरुवाको जानकारी नपाएको प्रतिक्रिया दिएका छन् । हाल उनी सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन् । तर अध्यक्ष चन्दले भण्डारी पालिकामा आउन नचाहेर विभिन्न बहाना बनाइरहेको आरोप लगाएका छन् ।

कमेन्ट लोड गर्नुस