धनगढी–हेटौडा रात्रीकालीन बस सेवा सुरु
धनगढी: सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढीको क्याम्पसरोडस्थित बसपार्कबाट हुलाकी राजमार्ग हुँदै हेटौडासम्मको रात्रीकालीन बस सेवा आजदेखि सुरु गरेको छ।
नयाँ सेवाअन्तर्गत बस धनगढीबाट हसुलिया, भजनी, सत्ती, बर्दियाको गुलरिया, नेपालगञ्ज र कोहलपुर हुँदै हेटौडासम्म नियमित रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ। यस सेवाबाट सुदूरपश्चिम, मध्यपश्चिम हुँदै मध्य नेपाल यात्रा गर्ने यात्रुहरूलाई सहज, सुरक्षित र समयमै गन्तव्यमा पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार हुलाकी राजमार्गमार्फत नयाँ गन्तव्य जोडिँदा यात्रुहरूलाई वैकल्पिक तथा सहज यात्रा सुविधा उपलब्ध हुनेछ। यात्रुहरूको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै रात्रीकालीन बस सेवा सुरु गरिएको उनले जानकारी दिए।
अध्यक्ष सापकोटाले सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै नयाँ सेवाबाट व्यवसाय, रोजगारी, शिक्षा तथा उपचारका लागि यात्रा गर्ने यात्रुहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए। उनले सम्पूर्ण यात्रुहरूलाई सेवाको लाभ लिन आग्रहसमेत गरे।
कम्पनीका अनुसार बस सेवा नियमित रूपमा सञ्चालन गरिनेछ भने यात्रुहरूको सुविधाका लागि आवश्यक व्यवस्थापन र सुरक्षामा विशेष ध्यान दिइनेछ।