सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आचारसंहिताबारे छलफल

२०८२ माघ ४, ०४:२० रासस

सुदूरपश्चिम: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा आज धनगढीमा निर्वाचन आचारसंहिताका विषयमा छलफल गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित सर्वपक्षीय सर्वदलीय बैठकमा निर्वाचन आचारसंहिता–२०८२, मनोनयनपत्र दर्ताका क्रममा अपनाउनुपर्ने प्रक्रिया, शान्ति सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको हो।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ५ का मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भुवनसिंह थापाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष, स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन आचारसंहिता सबैले अक्षरशः पालना गरेमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। उनले निर्वाचनपूर्व, निर्वाचनको दिन तथा निर्वाचनपछिको सुरक्षालाई ध्यानमा राखी रणनीति तयार गरेर अघि बढिरहेको जानकारी दिए।

बैठकमा सहायक निर्वाचन अधिकृत चेतराज पन्त र प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले निर्वाचन तयारीका विभिन्न पक्षबारे जानकारी गराए। छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस