इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ: ट्रम्प
अमेरिका: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गरेका छन्। इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति जनआक्रोश चर्किँदै जाँदा देशभर सरकारविरोधी प्रदर्शन फैलिरहेको सन्दर्भमा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
पोलिटिकोसँगको अन्तर्वार्तामा ट्रम्पले तेहरानको नेतृत्वले सत्ता जोगाउन हिंसा र दमनको सहारा लिएको आरोप लगाए।
“देशको नेताका रूपमा उनले आफ्नो देशको लगभग पूर्ण विनाश र इतिहासमै नदेखिएको स्तरको हिंसाको प्रयोगको जिम्मेवारी लिनुपर्छ,” ट्रम्पले पोलिटिकोसँग भने, “देश चलाउन—भखभल त्यो न्यूनस्तरको भए पनि—नेतृत्वले आफ्नै देशलाई सही ढङ्गले सञ्चालन गर्न ध्यान दिनुपर्छ, जसरी मैले संयुक्त राज्य अमेरिकामा गरेको छु। नियन्त्रण कायम राख्न हजारौँ निर्दोष मानिस मार्न आवश्यक हुँदैन।”
ट्रम्पका अनुसार साँचो नेतृत्व डर र मृत्युमाथि होइन, सम्मानमाथि आधारित हुन्छ। उनले खमेनीको व्यक्तिगत आलोचना गर्दै उनलाई ‘एक बिरामी मानिस’ को संज्ञा दिए र कमजोर नेतृत्वका कारण इरान संसारमा बस्न सबैभन्दा खराब स्थानमध्ये एक बनेको टिप्पणी गरे। “उनले आफ्नो देश राम्रोसँग चलाउनुपर्छ र आफ्नै नागरिकलाई मार्न बन्द गर्नुपर्छ,” ट्रम्पले भने।
ट्रम्पको यो टिप्पणी इरानी सर्वोच्च नेता खमेनीले सामाजिक सञ्जाल एक्समा शृङ्खलाबद्ध पोस्ट गर्दै इरानमा भइरहेको अशान्ति र हताहतका घटनाका लागि अमेरिकालाई दोष लगाएपछि आएको हो। खमेनीले अमेरिकी राष्ट्रपतिले इरानी जनताको वास्तविक इच्छालाई गलत रूपमा चित्रण गर्दै हिंसात्मक समूहहरूलाई समर्थन गरेको आरोप लगाए।
“अमेरिकी राष्ट्रपतिले तोडफोड, आगजनी र मानिसहरूको हत्या गर्ने समूहहरूलाई ‘इरानी राष्ट्र’ का रूपमा प्रस्तुत गरेका छन्,” खमेनीले लेखेका छन्, “यसरी इरानी जनताको अपमान गरिएको छ, र यस बदनामीका लागि हामी अमेरिकी राष्ट्रपतिलाई दोषी ठान्छौँ।”
उनले थप आरोप लगाउँदै भने, “अमेरिकी राष्ट्रपतिले राजद्रोहीहरूलाई समर्थन गर्ने र उनीहरूलाई सैन्य सहयोग उपलब्ध गराउने सन्देश दिएका छन्। अर्को शब्दमा, अमेरिकी राष्ट्रपति स्वयं देशद्रोहमा संलग्न छन्। यी आपराधिक कार्यहरू हुन्।”
ट्रम्प र खमेनीबीचका यस्ता अभिव्यक्तिहरूले वासिङ्टन र तेहरानबीच बढ्दो कडा बयानबाजीलाई थप उजागर गरेको छ। विश्लेषकहरूका अनुसार यसले इरानभित्र जारी राजनीतिक अस्थिरता र शासन प्रणालीप्रति गहिरिँदो विभाजनलाई समेत स्पष्ट पारेको छ।
यसैबीच, मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी ९एचआरएएनए० का अनुसार इरानमा देशव्यापी विरोध प्रदर्शन २१औँ दिनमा प्रवेश गरिसकेको छ। देशभर इन्टरनेट ब्ल्याकआउट जारी छ भने सुरक्षा निकायहरूले कडा दमनात्मक कारबाही सञ्चालन गरिरहेका छन्।
एचआरएएनएले पुष्टि गरेको विवरणअनुसार हालसम्म विरोध प्रदर्शनका क्रममा तीन हजार ३०८ जनाको मृत्यु भइसकेको छ। थप चार हजार ३८२ घटनाबारे अनुसन्धान भइरहेको छ। अहिलेसम्म दुई हजार १०७ जना गम्भीर घाइते भएका छन् भने कम्तीमा २४ हजार २६६ जनालाई पक्राउ गरिएको छ।
यसै सन्दर्भमा खमेनीले पहिलो पटक सार्वजनिक रूपमा अशान्तिका क्रममा ‘हजारौँ मानिसले’ ज्यान गुमाएको स्वीकार गरेका छन्।