सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैल्यशिखरमा बाख्रा पालनको नाममा भ्रष्टाचार, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा

२०८२ माघ ४, ०६:४२ खबर संवाददाता

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालनका नाममा आएको सरकारी अनुदानमा ठूलो भ्रष्टाचार भएको पाइएको छ। बाख्रा नै खरिद नगरी नक्कली बिल र कागजात तयार गरी २३ लाख ७५ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७८र०७९ मा शैल्यशिखर नगरपालिका–९ मा रहेको नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिले प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत बाख्रा फार्म निर्माण तथा बाख्रा खरिद योजना सञ्चालन गरेको थियो। तर उक्त योजनामा भक्तपुरको चाँगुनारायणस्थित एक फार्मबाट १५ वटा बोका र १५ वटा बोयर बाख्रा खरिद गरेको भन्दै नक्कली बिल पेस गरी रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको छ।

भक्तपुरस्थित उक्त फार्मले आफूहरूले कुनै पनि बोका–बाख्रा बिक्री नगरेको बयान दिएपछि अनियमितता सार्वजनिक भएको हो। साथै भक्तपुरदेखि दार्चुलासम्म बाख्रा ढुवानी गरिएको कुनै प्रमाण फेला नपरेको र उपभोक्ता समितिमा समेत एउटै परिवारका सदस्य मात्र राखेर सम्झौता गरिएको अख्तियारले जनाएको छ।

बाख्रा वितरणका क्रममा पनि वास्तविक किसानलाई नदिई समितिका पदाधिकारीहरूले नै २–२ वटाका दरले बुझेको देखाउने नक्कली भरपाई बनाइएको पाइएको छ। १५ वटा बाख्राका लागि प्रजनन प्रयोजनमा १–२ वटा बोका पर्याप्त हुने भए पनि १५ वटै बोका खरिद गरेको देखाएर सरकारी रकम दुरुपयोग गरिएको अख्तियारको ठहर छ।

यसका अतिरिक्त, बाख्राको खोर निर्माणमा वास्तविक कामभन्दा करिब २५ घनमिटर बढी काम देखाई नापी किताबमा नक्कली विवरण समावेश गरिएको छ। निर्माण गरिएका खोरहरू पनि जीर्ण र गुणस्तरहीन अवस्थामा भेटिएका छन्। अनुगमन समितिको प्रतिवेदनमा अनुगमन गर्ने व्यक्तिको नाम र हस्ताक्षरसम्म नपाइएको अख्तियारले जनाएको छ।

मिलेमतोमा नक्कली कागजात तयार गरी २३ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले संलग्न सबैमाथि कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कमेन्ट लोड गर्नुस