सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुख नपाएपछि काँग्रेस देउवा समूहले १६५ क्षेत्रमै स्वतन्त्र उम्मेदवार उठाउने 

२०८२ माघ ४, ०७:२३ खबर संवाददाता

काठमाडौँ: नेपाली काँग्रेसको चुनाव चिन्ह र चार तारे झण्डा खोसेर निर्वाचन आयोगले बहुमतको निर्णयबाट अर्को समूहलाई दिएपछि चुनाव चिह्नबिहिन बनेको संस्थापन पक्षले १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागेको छ।

उच्च स्रोतका अनुसार कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकपछि देशभरि स्वतन्त्र उम्मेदवारी दिएर नेपाली काँग्रेसलाई बचाउन प्रयास गर्न लागिएको छ।

निर्वाचन आयोगले काँग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डा गगन थापा समूहलाई दिएको छ। काँग्रेसले स्वतन्त्र उम्मेदवारहरू उठाउन टिकट दिएर नेताहरूलाई जिल्ला जिल्लामा पठाउन सुरू गरिसकेको छ।

नेपाली काँग्रेसको देउवा पक्षसँग चुनाव चिह्न रुख नभएपछि स्वतन्त्र उम्मेदवारी दिएर भए पनि काँग्रेसका मतदाताहरूलाई एकठाउँमा राख्ने प्रयास स्वरुप १ सय ६५ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठाउन लागिएको छ।

यसअघि २०५१ सालको मध्यावधि निर्वाचनमा नेता महेन्द्रनारायण निधिले देशभरि सबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरू उठाएका थिए। त्यसपछि मध्यावधि निर्वाचनमा काँग्रेसका आधिकारिक उम्मेदवारहरूको पराजय भएर एमाले पहिलो दल बनेको थियो।

कमेन्ट लोड गर्नुस