सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका दुवै निर्वाचन क्षेत्रमा प्रमुख दलले टुंग्याए प्रतिनिधिसभा उम्मेदवार

२०८२ माघ ६, ११:४८ खबर संवाददाता

अछाम: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अछाम जिल्लाका राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्ररसम्बद्ध दल), राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरूले अछामका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सार्वजनिक गरेका हुन्।

दुई निर्वाचन क्षेत्र रहेको अछामको क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट पूर्व जिल्ला सभापति तथा पूर्व जिल्ला विकास समितिका सभापति भरतकुमार स्वार रुख चिन्हमा उम्मेदवार बन्नुहुने भएको छ। स्वार २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भीम रावलसँग पराजित हुनुभएको थियो।

सोही क्षेत्रमा नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर बोहरा उम्मेदवारीबाट पछि हटेपछि प्रलोपाका केन्द्रीय सदस्य दीपक साउँद (तरङ्ग) सूर्य चिन्हमा चुनावी मैदानमा उत्रिनुहुने भएको छ। सशस्त्र युद्धमा सहभागी रहनुभएका साउँद २०७० सालमा तत्कालीन नेकपा माओवादीबाट यही क्षेत्रबाट संविधानसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो।

नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावल उम्मेदवार रहनुहुने छ। रावल २०५२, २०७० र २०७४ मा एमालेबाट विजयी हुनुभएको थियो भने यसपटक प्रचण्ड नेतृत्वको दलबाट उम्मेदवारी दिनुहुने भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति ओमप्रकाश रावल उम्मेदवार रहने निश्चित भएको छ।

यस्तै, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका जिल्ला सभापति तथा निवर्तमान प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह र नेकपा ९एमाले० का केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीबीच प्रतिस्पर्धा हुने भएको छ। यी दुई नेताबीच लगातार तेस्रो पटक चुनावी भिडन्त हुन लागेको हो। २०७४ मा बोगटीले शाहलाई पराजित गरेका थिए भने २०७९ मा शाहले बोगटीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पहिलो संविधानसभा सदस्य शरदसिंह भण्डारी तारा चिन्हमा उम्मेदवार बन्नुहुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाह उम्मेदवार रहने छन्। विप्लव नेतृत्वको नेकपा ९माओवादी० ले शेरबहादुर विकलाई उम्मेदवार बनाएको छ भने उज्यालो नेपाल पार्टीबाट दोस्रो संविधानसभा सदस्य भरत साउँद उम्मेदवार बन्ने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेपाल मजदुर किसान पार्टीलगायत अन्य साना दलहरूले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

मनोनयन दर्ताका लागि अछाम क्षेत्र नं. १ का उम्मेदवारहरूले साँफेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं. २ का उम्मेदवारहरूले मंगलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। उम्मेदवार तथा दलका नेताहरू हाल आ–आफ्ना पार्टी कार्यालयमा मनोनयनको तयारीमा जुटिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस