सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको विजय नजिक

२०८२ फाल्गुन २३, ०७:५७ रासस

म्याग्दीः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन्।
धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका छन्।  

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को तीन हजार ९०६ मत गणना हुन बाँकी छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार ५२४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए। 

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार २७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ४१२ मत प्राप्त गरेका छन्। बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । बयालीस हजार ४४५ मत गणना सकिएको छ। 
 

कमेन्ट लोड गर्नुस