दार्चुलामा एमालेको अग्रता
खलङ्गा (दार्चुला): एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्नाले अग्रता हासिल गरेका छन्।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लाका ९ मध्ये ८ पालिकाको मतगणना सकिएको छ। अन्तिममा मालिकार्जुन गाउँपालिकाको मतगणना जारी छ।
हालसम्मको मत परिणाम अनुसार एमाले उम्मेदवार ठगुन्नाले १६ हजार ३९५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १४ हजार ९६ मत पाएका छन्। दुवै बीच मतान्तर २ हजार २९९ रहेको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशसिंह सामन्तले ७ हजार ७३९ र नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणदत्त जोशीले २ हजार ७८७ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार दार्चुलामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन्, जसमा ४३ हजार ८६० मत खसेका छन्। अहिलेसम्म १ हजार ८४० मत बदर भएका छन्।