दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य
धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। ओपनर स्कट कुगलेइनले ६ रन बनाउँदा विनोद भण्डारी १ रनमै आउट भए। त्यसपछि क्रिजमा आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डेले खाता खोल्न सकेनन्। दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले पभेलियनको बाटो देखाए।
चार विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले सम्हाल्ने प्रयास गरे। आरिफले २५ बलमा १६ रन बनाएर रनआउट भए।
कप्तान ऐरीले भने उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। उनले ६० रनको योगदान दिए। यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रन जोडेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको हो।
बलिङतर्फ काठमान्डु गोर्खाजका जहानदाद खानले सर्वाधिक तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे।
अब काठमान्डु गोर्खाजले जितका लागि २० ओभरमा १२६ रन बनाउनुपर्नेछ।