सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेकपा शून्य हुने लगभग निश्चित

२०८२ फाल्गुन २४, ०२:०८ खबर संवाददाता

धनगढीः २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये आठ सिट जित्दै नेपाली काँग्रेस पहिलो बनेको थियो। त्यसबेला नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीले तीन–तीन सिट जित्दा नेकपा एमाले दुई क्षेत्रमा विजयी भएको थियो।

त्यस समय काँग्रेस र एकीकृत समाजवादीसँग गठबन्धन गरे पनि माओवादी केन्द्र भने शून्य बनेको थियो। सिट बाँडफाँटमा माओवादीले कैलाली–२, कैलाली–३, कञ्चनपुर–१ र बैतडी गरी चार क्षेत्र पाएको थियो तर सबै उम्मेदवार पराजित भएका थिए।

यसपटक भने त्यही अवस्था नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को देखिएको छ। अघिल्लो निर्वाचनमा ६ सिट जितेका (तीन नागरिक उन्मुक्ति र तीन एकीकृत समाजवादी) दलसँग एकता भए पनि सुदूरपश्चिममा नेकपा शून्य हुने अवस्था देखिएको हो।

सुदूरपश्चिमका १६ मध्ये १४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये नौ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। नेपाली काँग्रेसले तीन क्षेत्रमा जित निकाल्दा नेकपा एमाले दुई क्षेत्रमा विजयी भएको छ।

अब कैलाली–२ र अछाम–२ को अन्तिम नतिजा आउन बाँकी छ। तर यी दुबै क्षेत्रमा नेकपा उम्मेदवारको जितको सम्भावना देखिएको छैन।

कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल जित नजिक पुगेका छन्। गन्न बाँकी मतभन्दा उनको अग्रता बढी छ। सो क्षेत्रमा नेकपा उम्मेदवार नन्दबहादुर साउँद पाँचौं स्थानमा रहेका छन्।

अछाम–२ मा भने काँग्रेसका पुष्पबहादुर शाह र एमालेका यज्ञबहादुर बोगटीबीच प्रतिस्पर्धा भइरहेको छ। हालसम्म बोगटीले ८ हजार १७० मत प्राप्त गरेका छन् भने शाहले ७ हजार ८८४ मत पाएका छन्। रास्वपाका भुपदेव शाहको ४ हजार २१९ र नेकपा उम्मेदवार बलबहादुर कुँवर भने ३ हजार ५५३ मतसहित चौथो स्थानमा रहेका छन्।

सुदूरपश्चिमका अधिकांश क्षेत्रमा नेकपा उम्मेदवार निकटतम प्रतिस्पर्धी बन्नसमेत सकेनन्। अछाम–१ मा भीम रावल, कैलाली–३ मा वीरमान चौधरी र कञ्चनपुर–१ मा बिना मगर मात्रै दोस्रो स्थानमा रहेका छन्। रावल ५२६ मतले पराजित हुँदा चौधरी र मगरको मतान्तर भने उल्लेख्य रहेको छ।

कमेन्ट लोड गर्नुस