बैतडीका दुई काँग्रेस नेता पाँच वर्षका लागि निष्कासित
बैतडीः नेपाली काँग्रेसले बैतडीका महासमिति सदस्य उत्तरबहादुर ऐर र जिल्ला कार्यसमिति सदस्य विरेन्द्रबहादुर ऐरलाई पार्टीबाट कारबाही गरेको छ।
पार्टीको आचरण, अनुशासन र विधान विपरीत गतिविधि गर्दै कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दको विरोधमा लागेर अन्य दलका उम्मेदवारका पक्षमा मत मागेको आरोपमा उनीहरूलाई कारबाही गरिएको कांग्रेस बैतडीले जनाएको छ। कारबाहीमा परेका दुवै जना दाजुभाइ हुन्।
कांग्रेस बैतडीका जिल्ला अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार दुवैलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासित गरिएको हो।
उनीहरूले पार्टीविरुद्ध गतिविधि गरेको प्रमाणका रूपमा दुवै जनाको अडियोसमेत सुरक्षित राखिएको जोशीले बताए।