सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेतन अयडी हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतमा सुनुवाइ सकियो, फैसला आउँदै

२०८३ असोज १, ०५:३३ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतमा सुनुवाइ सकिएको छ। घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा सुनुवाइ सकिएको हो।

बुधबार र बिहीबार लगातार बहस भएको थियो। जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए। अभियुक्तहरूका तर्फबाट जगत बमलगायतले बहस गरेका थिए।

यस मुद्दामा २४ जना प्रतिवादी छन्। यीमध्ये ७ जना मात्र थुनामा छन्। ११ जना विभिन्न तहका अदालतबाट धरौटी बुझाएर तारिखमा छुटेका छन् भने ६ जना साधारण तारिखमा छन्।

अभियुक्तमध्ये ६ जनालाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर (आजीवन) कैद गर्न र बाँकी १६ जनालाई दफा १७७ बमोजिम जन्मकैद (२५ वर्ष) सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौँमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो।

थुनामा रहेका प्रतिवादीहरू: धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी, जीवन अयडी र पदम अयडी।

धरौटी तारिखमा रहेका प्रतिवादीहरू: मंगल भन्ने मदनबहादुर अयडी, निरजबहादुर अयडी, नरबहादुर अयडी, उद्धवबहादुर अयडी, रतनबहादुर अयडी, अनिता रौले अयडी, मोहनबहादुर अयडी, नवीनबहादुर अयडी, ईश्वरीदेवी अयडी, धनादेवी अयडी र नरेशबहादुर अयडी।

साधारण तारिखमा रहेका प्रतिवादीहरू: भूपाल अयडी, चक्र अयडी, रुपा चौधरी अयडी, जुद्ध अयडी, रनसिंहबहादुर अयडी र विनोद अयडी।
 

कमेन्ट लोड गर्नुस