सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा विस्थापित परिवारले २१० दिनको अनशन तोडे

२०८२ फाल्गुन २६, १२:१९ खबर संवाददाता

कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारले २१० दिनअघि सुरु गरेको अनशन सोमबार अन्त्य गरेका छन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले अनशन तोडेका हुन्।

कञ्चनपुर निर्वाचन क्षेत्र–२ बाट निर्वाचित बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरूले अनशन तोडेका हुन्। विस्थापित परिवार विगत लामो समयदेखि पुनःस्थापनाको माग गर्दै आन्दोलनमा थिए। पछिल्लो समय उनीहरू कृष्णपुर नगरपालिका–२, वनहरा नजिक सडक छेउमा पाल टाँगेर निरन्तर अनशनमा बसेका थिए।

सांसद बोहराले विस्थापित परिवारको समस्या गम्भीर रहेको बताउँदै यसलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता जनाए। उनले विगतमा गठन भएका आयोगले तयार पारेका प्रतिवेदन अध्ययन गरी पुनःस्थापनाका लागि ठोस पहल गर्ने बताए।

कमेन्ट लोड गर्नुस