सरस्वती मावि सेहरीले मनायो ६०औँ वार्षिकोत्सव
धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ सेहरीस्थित सरस्वती माध्यमिक विद्यालयले ६०औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल रानाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री प्रकाशबहादुर शाह प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख शारदा रोकाया, शिक्षाप्रेमी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक वेदप्रसाद ओझाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएका थिए।
कार्यक्रमको उद्घाटन सरस्वती वन्दनासहित दीप प्रज्वलन गरेर गरिएको थियो। वार्षिकोत्सवमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार तथा विद्यालयको समग्र विकासका विषयमा समेत चर्चा गरिएको थियो।
सोही अवसरमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयका शिक्षक माधवप्रसाद बडू र धनगढी- १३ कैलाली गाउँ निवासी गोमतदेवी ओझाले अक्षकोष पनि स्थापना गरेका छन्।