कञ्चनपुरको गड्डाचौकीमा भन्सार छलिका सामान बरामद
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा भन्सार छलि गरी भारतबाट नेपाल भित्र्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अन्दाजी मूल्य १ लाख १३ हजार रुपैयाँ बराबरका चप्पल, प्लास्टिक पिचकारी, प्लास्टिक झिल्ली तथा विभिन्न किराना सामान बरामद गरिएको छ। ती सामान अवैध रूपमा भारतबाट भन्सार छलि गरी नेपाल ल्याइएको आशंका गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।