सरकारले प्रदेशको संरचनामा स्पष्ट नीति ल्याउनेमा विश्वस्त छु: मुख्यमन्त्री शाह
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गरेका छन्।
मंगलबार मुख्यमन्त्रीे निवासमा पत्रकार सम्मेलन गर्दै मुलुक अप्ठेरो अवस्थामा रहेको बेला शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा उनले राष्ट्रपति रामचन्द्र पौडेल र सुरक्षा निकायका प्रमुख लगायतलाई धन्यवाद व्यक्त गरेका हुन्।
पत्रकार सम्मेलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदैै मुख्यमन्त्री शाहले कांग्रेस भित्रको विवादले पार्टीको अवस्था कमजोर भएको भन्दै अब नियमित महाधिवेशनमार्फत कांग्रेसलाई बलियो बनाउन लाग्नु पर्ने धारणा व्यक्त गरे।
उनले विशेष महाधिवेशनभन्दा पहिले कांग्रेसका सबै नेता–कार्यकर्ता एकै ठाउँमा रहेको उल्लेख गर्दै काँग्रेसलाई फेरि त्यही अवस्थामा पु¥याउन पार्टी नेतृत्व एक ठाउँमा आउनु पर्ने धारणा व्यक्त गरे।
मुख्यमन्त्री शाहले केहि दिन अगाडि वन कर्मचारीले आफूलाई जोडेर ५ लाख रुपियाँ घुस मागेको आरोप लागेको अडियो सार्वजनिक गरेको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए। शाहले भने, “मैले ती कर्मचारीसँग बसेर चिया मात्रै खाएको भएपनि म पदबाट राजीनामा दिन तयार छु। मैले रकम मागेको कुरा सरासर गलत हो,’ ‘यसरी मानमर्दन गर्ने कुराको मैले कानुनी उपचार खोजेको छु ।”
साथै उनले जनतामा प्रदेश सरकारप्रति वितृष्णा भईरहेको अवस्थामा अब बन्ने दुई तिहाइको सरकारले संविधान संशोधन गरी, भ्रष्टाचार नियन्त्रण, प्रदेशको संरचना लगायतमा स्पष्ट निती ल्याउनेमा आफू विश्वस्त रहेको र नयाँ बन्ने दुई तीहाइको सरकारलाई साथ प्रदेश सरकार तयार रहेको बताएका छन्।