सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका नवनिर्वाचित सांसद गाउँ–बस्तीमा, मतदाताका समस्या सुन्दै

२०८२ फाल्गुन २८, ०१:०० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरू पछिल्लो समय गाउँ–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या बुझ्न सक्रिय भएका छन्।

कञ्चनपुर क्षेत्र–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पहिलो पटक निर्वाचित सांसद जनक सिंह धामी बिहीबार बेलौरी नगरपालिका–९ को कुण्डा, रतनपुर तथा वडा नम्बर १० को भुडा क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग छलफल गरेका छन्। सो क्रममा स्थानीयले क्षेत्रका विभिन्न समस्या र आवश्यकताबारे जानकारी गराएका थिए।

बेलौरी–९ का स्थानीय गोपाल चौधरीले कुण्डामा रोकिएको सडक योजना समयमै सम्पन्न गर्न पहल गर्न सांसद धामीसँग आग्रह गरेका थिए। त्यस अवसरमा सांसद धामीले क्षेत्रको विकासका लागि आवश्यक नीति तथा नियम संशोधन गर्न र युवाका लागि रोजगारीका अवसर सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।

यसअघि सोमबार पनि सांसद धामीले बेलौरीको भीमदत्त चोक, कलकत्ता बजार, गोकुलपुर बजार, बेलडाडीको चवौंन्नी बजार, लालझाडीको चानदेव, कन्ज बजार तथा पुनर्वास नगरपालिकाका विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका थिए। उनले मतदातालाई धन्यवाद दिँदै सरकार गठन भएसँगै क्षेत्रको विकासका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैगरी कञ्चनपुर क्षेत्र–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महतले पनि विभिन्न ठाउँमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै समस्या बुझ्ने काम गरिरहेका छन्। बिहीबार उनले भीमदत्त नगरपालिकाका विभिन्न वडा तथा दोधारा–चाँदनी नगरपालिकाका टोल–बस्तीमा पुगेर जनतासँग छलफल गरेका थिए।

सो अवसरमा सांसद महतले जनतामा अभिभावक राज्यको अनुभूति गराउने गरी काम गर्ने योजना रहेको बताएका छन्। उनले क्षेत्रको समग्र विकासका लागि आवश्यक नीति तथा नियम निर्माण गर्ने र युवालाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस