सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित १ युवती र ६ युवक पक्राउ

२०८२ फाल्गुन २९, ०८:२८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित १ युवती र ६ युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट ८७० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २१ वर्षकी सुनिता राना रहेकी छिन्। रानालाई बिहीबार दिउँसो लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी बागफाटा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

यस्तै बेलौरी नगरपालिका–८ खप्टीनालाबाट ४ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने ३१ वर्षीय पुरुषोत्तम राना पक्राउ परेका हुन्। पुरुषोत्तमलाई बिहीवार साँझ गोप्य सूचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेलापारी पक्राउ गरेको हो।

यसैगरी बेलौरी नगरपालिका–१० पिपलचौताराबाट शुक्लाफाँटा नगरपालिका–१२ कालागौडी बस्ने २४ वर्षीय अर्जुन राना, सोही ठाउँ बस्ने २४ वर्षीय गणेशबहादुर साँहु र १८ वर्षीय किशोरलाई २ ग्राम १३० मिलिग्राम खैरो हेरोईनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश ०२–००४ प १५८६ नम्बरको मोटरसाइकलमा सवार तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

 यसैगरी बेलौरी नगरपालिका–१० दर्शी खल्लाबाट लालझाँडी गाउँपालिका–२ कंज बस्ने २४ वर्षीय बलराम राना र सोही ठाउँ बस्ने २६ वर्षीय बलराम रानालाई १ ग्राम ८६०मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से १ प ६७७० नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस