बुढीगङ्गा बाढीपछि ओलेना बस्ती उजाडिँदै, १३ परिवार विस्थापनको जोखिममा
बाजुराः बाजुराको बडीमालिका नगरपालिका–४ स्थित ओलेना बस्ती २०७६ सालको बुढीगङ्गा नदीको बाढीपछि उजाड बन्दै गएको छ। कुनै समय जिल्लाकै तरकारी उत्पादनको केन्द्र मानिने ओलेनामा अहिले खेतीयोग्य जमिन नष्ट भई बस्ती नै विस्थापनको जोखिममा परेको छ।
२०७६ साल साउन–भदौमा बुढीगङ्गा नदीमा आएको बाढीले ओलेनाबासीको सबै खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको थियो। सिँचाइ कुलोको राम्रो व्यवस्था र समथल जमिनका कारण यहाँ उत्पादन हुने तरकारी बाजुराको मार्तडी बजारसम्म बिक्री हुँदै आएको थियो। तर बाढीपछि स्थानीयको मुख्य आम्दानीको स्रोत पूर्ण रूपमा बन्द भएको छ।
स्थानीय कृषक देवबहादुर नाथका अनुसार पहिले धान, गहुँभन्दा बढी तरकारी र फलफूल खेती गरेर परिवार पालिँदै आएको थियो। “सबै जमिन बगर बनेपछि अब बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता छ,” उनले भने।
साँफे–मार्तडी राजमार्गको मुनि रहेको ओलेना बस्तीका घरहरू पनि अहिले नदी कटानको उच्च जोखिममा छन्। खेतीयोग्य जमिन गुमेपछि मात्र होइन, बसोबास नै संकटमा परेपछि केही परिवार बस्ती छोडेर अन्यत्र सर्न थालेका छन्। पहिला १६ भन्दा बढी नाथ परिवार बसोबास गर्ने ओलेनामा अहिले झण्डै १३ परिवार मात्र बाँकी छन्।
स्थानीय तथा शिक्षक कमल नाथले ओलेनाबाट उत्पादन भएको तरकारी मार्तडी बजारका अधिकांश पसलमा पुग्ने गरेको स्मरण गरे। “ओलेनाबासीको मुख्य पेसा नै तरकारी खेती थियो। अहिले खेती गर्ने जमिन मात्र होइन, घरबासको समस्या समेत देखिएको छ,” उनले भने।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक डोरेन्द्र निरौलाले ओलेना बस्ती पूरै नदीको जोखिममा रहेकाले स्थानान्तरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए। तर स्थानीयका अनुसार अहिलेसम्म सुरक्षित बसोबासको कुनै ठोस व्यवस्था हुन सकेको छैन।
कुनै समय तरकारी उत्पादनले परिचित ओलेना अहिले उजाड बगरमा परिणत हुँदै गएको छ। दीर्घकालीन व्यवस्थापन र पुनस्र्थापनाको पहल नहुँदा बाँकी रहेका परिवारसमेत विस्थापनको अवस्थामा पुग्ने खतरा बढ्दै गएको छ।