कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार,जबर्जस्ती स्क्यामिङ केन्द्रमा काम गराइएका थिए
काठमाडौँ: राम्रो रोजगारी र धेरै पैसा कमाउने प्रलोभनमा परेर कम्बोडिया पुगेका २१ जना नेपालीको उद्धार गरिएको छ। अवैधरूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ (ठगी) केन्द्र तथा क्यासिनोमा जबर्जस्ती गैरकानुनी काममा लगाइएका उनीहरूलाई शुक्रबार स्वदेश फर्काइएको हो।
बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार सम्भव भएको हो।
दूतावासका अनुसार दलालको प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरू भिसा अवधि सकिएपछि पनि लुकिछिपी बस्न बाध्य भएका थिए। साथै, कम्बोडियामा यस्तै परिस्थितिमा अलपत्र परेका अन्य नेपालीहरूको खोजी तथा स्वदेश फर्काउने पहल निरन्तर जारी रहेको दूतावासले जनाएको छ।