सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८२ चैत्र १, ०८:३९ खबर संवाददाता

कैलाली: कैलालीका विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित भारत लखिमपुर खिरी पलिया बस्ने २२ वर्षीय राजन गुप्तालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसैगरी, गोदावरी नगरपालिका–११ गौडीबजारस्थित एक खुद्रा पसलबाट पनि लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। सोही स्थानका ३४ वर्षीय लोकेन्द्र कठायतले सञ्चालन गरेको पसलमा लागूऔषध सेवन तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले पसल तथा कठायतलाई खानतलासी गर्दा ६७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।

उक्त क्रममा सोही पसलमा लागूऔषध सेवन गरिरहेको अवस्थामा भेटिएका २१ वर्षीय केशव नेपालीलाई समेत प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ओलानीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस