सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला’ आयोजना हुँदै

२०८३ मंसिर ६, ०४:२३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका महिला उद्यमीले उत्पादन गरेका स्थानीय तथा परम्परागत वस्तुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले धनगढीमा मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला २०८३’ आयोजना हुने भएको छ।

एफसिएको आयोजनामा हुन लागेको मेलासँगै ‘आरोही सुदूरपश्चिम समूह’को छ महिने मेन्टरसिप कार्यक्रमको समापन समारोहसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

स्थानीय उत्पादनको पहिचान, बजार पहुँच विस्तार तथा महिला उद्यमीको उद्यमशील प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। मेलामा सुदूरपश्चिमका महिला उद्यमीले उत्पादन गरेका मह, झोला, हस्तकलाका सामग्री, स्थानीय तथा परम्परागत उत्पादन र खाद्य सामग्रीलगायत विभिन्न वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।

आयोजकका अनुसार मेलामा करिब ३० वटा स्टल रहनेछन्। मेलाले महिला उद्यमीलाई आफ्ना उत्पादन तथा व्यवसाय प्रदर्शन गर्ने, सम्भावित ग्राहकसँग जोडिने र नयाँ बजार तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, ‘आरोही: मेन्टरसिप, सीप विकास र सहकार्यमा आधारित महिलाको उद्यमशीलताको प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम समूहका महिला उद्यमीलाई छ महिनासम्म अनुभवी मेन्टरसँग आबद्ध गराई व्यक्तिगत मार्गदर्शन, सीप विकास, ज्ञान आदानप्रदान तथा व्यावसायिक सञ्जाल विस्तारका अवसर प्रदान गरिएको थियो।

समापन समारोहमा सहभागी महिला उद्यमीहरूले छ महिनाको अवधिमा हासिल गरेका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्नुका साथै आफ्नो उद्यमशील यात्राका आगामी सम्भावनाबारे छलफल गर्नेछन्।

फिनल्यान्डस्थित परराष्ट्र मन्त्रालय र वुमेन्स बैंकको सहयोगमा सञ्चालित यस कार्यक्रमले महिला उद्यमीहरूको व्यावसायिक ज्ञान, सीप, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्दै उनीहरूको उद्यमलाई दिगो रूपमा अगाडि बढाउन सहयोग पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

मेलाको आयोजना एफडब्लुइएन नेपाल, नेपाल युवा उद्यमी मञ्च, यूएन वुमन, मुक्त कमैया महिला विकास मञ्च, निड्स नेपाल र एकीकृत विकास समाज (IDeS) लगायत संस्थाको साझेदारीमा हुन लागेको हो।

धनगढीस्थित होटल रुबसमा आयोजना हुने मेलामा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस