चैतकाे भेटाैलाे सुदूरपश्चिमकाे एक विशेष चाड : मान सिंह धामी
धनगढी: सेलको भारी बोकी झान्ना दादा बैना !!
जैका हुन्ना दिदी बैनी भेटौलाका मैना !!
कोशेलाको भारी बोकी झान्ना दादा बैना !!
लाग्यो इजु चैतकाे मैना, दादा काँछ मेरो !!
रुँनीहो न्याउली चरी, जिउ झुर्दो हो तेरो !!
काफलकी करौउँ दानी, हुन लागे लाल !!
फर्किफर्कि आइग्यो इजु, यै मास यै साल !!
सोराइले हेर्दो छु मुइत, दाइकाे आउन्या बाटो !!
इतिछाँटो बिरानो भयो, मेरै जनम्या माटो !!
बासीझा न्याउली चरी सम्राई मान्न्या छैत !!
सम्झना माईतकि आउनी यै रंगीला चैत !!
सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लाहरू तथा भारतको कुमाऊँ–गढवाल क्षेत्रमा प्रत्येक वर्ष चैत महिनामा “भेटौलो” (कुमाऊँमा भिटौली वा चैतलो) पर्व मनाइन्छ। चैत १ गतेदेखि सुरु भएर महिनाभरि चल्ने यो पर्व विवाहित छोरीचेलीलाई माइती पक्षबाट भेट्ने र कोसेली दिने सामाजिक परम्परासँग जोडिएको छ। यसले माइती–चेली सम्बन्धलाई मजबुत बनाउँदै भाइबहिनीको प्रेम बढाउने काम गर्दछ।
भेटौलोको समयमा बुवा तथा दाजुभाइले छोरी, दिदीबहिनी र फुपूहरूलाई भेट्न उनीहरूको घरमा जाने चलन छ। यस क्रममा सेलरोटी, पिन्जरी, खजुरा, पुरी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल तथा क्षमता अनुसार लुगाकपडा र अन्य उपहार कोसेलीका रूपमा लगिन्छ। माइतीबाट आएको कोसेलीलाई गाउँछिमेकमा बाँड्ने चलनले सामाजिक एकता पनि मजबुत बनाउँछ।
यो परम्परा धार्मिक रूपमा चैते नवरात्रसँग पनि जोडिएको मानिन्छ। कुमाऊँ क्षेत्रमा देवताहरूले भगवती स्वरूपमा रहेका बहिनीहरूलाई भेट्न जाने विश्वास छ। चैत महिनामा चेलीबेटीलाई दान दिए पुण्य प्राप्त हुने जनविश्वास पनि रहेको छ।
परम्परागत रूपमा चैत महिना नयाँ अन्न भित्रिनुअघि खाद्यान्न अभाव हुने समय मानिन्थ्यो। त्यसैले माइतीले चेलीबेटीलाई खानेकुरा र सहयोग पुर्याउने उद्देश्यले पनि यो चलन विकसित भएको मानिन्छ। विगतमा सञ्चारका साधन कम हुँदा वर्षभरि छोरीचेलीको अवस्था थाहा नहुने भएकाले पनि वसन्त ऋतुमा भेट्ने परम्परा बसेको बताइन्छ।
भाइटीकामा दिदीबहिनी माइती जाने र चैतमा दाजुभाइ दिदीबहिनीको घरमा पुगेर भेट्ने चलनले पारिवारिक सम्बन्धलाई अझ आत्मीय बनाउँछ। भेटौलोमा दाजुभाइ एकरात दिदीबहिनीको घरमा बास बस्ने र सँगै भोजन गर्ने चलन पनि धेरै ठाउँमा कायम छ।
तर पछिल्लो समय आधुनिकीकरण, बसाइँसराइ र कामको व्यस्तताका कारण यो परम्परामा केही कमी आएको देखिन्छ। धेरैले घरमा बनाइने परिकारको सट्टा बजारबाट फलफूल वा मिठाई लगेर औपचारिक रूपमा भेट गर्ने प्रवृत्ति बढ्दै गएको छ। त्यसैले पुरानो पुस्तादेखि चल्दै आएको यो सांस्कृतिक सम्पदालाई जोगाउन स्थानीय परम्परागत परिकार र संस्कारलाई निरन्तरता दिनु आवश्यक देखिन्छ।
भेटौलो सुदूरपश्चिम र कुमाऊँ–गढवाल क्षेत्रको साझा सांस्कृतिक पहिचान हो, जसले प्राचीन सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई आजसम्म जीवित राखेको छ।