पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ।
नयाँ मूल्य अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।
यस्तै, दोस्रो वर्ग अन्तर्गत रहेका दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ तथा डिजेल–मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।
पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा तोकिएको निगमले जनाएको छ।
निगमका अनुसार अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावले पेट्रोलियम पदार्थको मूल्य बढाउन बाध्य भएको हो। निगमले यसबाट आम उपभोक्तामा पर्ने असरप्रति आफू सचेत र संवेदनशील रहेको पनि जनाएको छ।