सुदूर नेपाललाई विश्वसँग जोड्दै

सई बोहरा कैलालीका ‘पुलिस अफ द मन्थ’

२०८२ चैत्र २, ०३:५२ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सुरेशबहादुर बोहरालाई ‘पुलिस अफ द मन्थ’ प्रशंसा प्रदान गरिएको छ। हत्या घटनाको अनुसन्धान तथा घटनास्थल सुरक्षामा सक्रिय भूमिका खेलेको भन्दै उनलाई उक्त सम्मान दिइएको हो।

प्रहरीका अनुसार फागुन २४ गते राति धनगढी उपमहानगरपालिका–७ देवरीयामा डम्मरराज जोशीले आफ्नी ३० वर्षीया श्रीमती सरस्वती अवस्थी जोशीमाथि धारिलो हतियार प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका कारण सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे छिमेकीहरूले राति नै टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट सई बोहराको कमाण्डमा ११ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

उक्त टोलीले घटनास्थल सुरक्षित राख्ने, प्रारम्भिक अनुसन्धान गर्ने तथा आवश्यक प्रमाण संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ।

सोही घटनामा देखाएको सक्रियता र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै सई बोहरालाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरी कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्रबहादुर चन्दले प्रशंसा पत्र प्रदान गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस