एसपिए कैलाली प्राइड लिग: बुढीगंगा,घोडाघोडी र पुनर्वास नगरपालिका बी सेमिफाइनलमा प्रवेश
धनगढी: धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा बाजुराको बुढीगंगा नगरपालिका,कैलालीको घोडाघोडी नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका बी सेमिफाइनलमा प्रवेश गरेका छन ।
सोमबार सम्पन्न खेलमा पुनर्वास नगरपालिका बी ले टिकापुर नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनलको टिकट पक्का गरेको हो । पुनर्वास नगरपालिका बीले दिएको १६७ रनको लक्ष्य पछ्याएको टिकापुर १२.५ ओभरमा मात्र ५४ रनमै समेटिएको छ । टिकापुरका लागि कप्तान ट्रभिस जोशीले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोर अंकको रन जोड्न सकेनन । पुनर्वासका लागि यु१९ टोलीका कप्तान अशोक धामी एक्लैले ४ विकेट चट्काए । अन्य बलरले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुनर्वास नगरपालिका बीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन बनाएको थियो । उस्का लागि नरेन भट्टले सर्वाधिक ३८ रन बनाए । त्यस्तै अभिषेक पालले २५,आशिष लुहारले २४,अशोक धामीले २३ र कप्तान नारायण जोशीले १८ रनको योगदान दिए । टिकापुरका लागि तुल बहादुर थापामगरले ३ विकेट लिदा,कप्तान ट्रभिस जोशी,सोलुप चौधरी र तुल बहादुर थापाले समान दुई दुई तथा पारस तिमिल्सिनाले एक विकेट लिए ।
आजै सम्पन्न पहिलो खेलमा बरदगोरीया गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै आलिताल गाउँपालिकाले सेमिफाइल पुग्ने सम्भावना कायमै राखेको छ । टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको आलिताल गाउँपालिकाले बरदगोरीयालाई १८.१ ओभरमा अलआउट गर्दै मात्र ९० रनमा रोकेको थियो । ९१ रनको झिनो लक्ष्य पछ्याएको आलितालले कप्तान दिल बोहराको आक्रामक ४४ रनको अविजित पारीको मद्दतले १०.५ ओभरमा ३ विकेट गुमाएर सजिलै जित दर्ता गर्यो । बोहराले मात्र २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । निराजन गौतम १९ रनमा अविजित रहँदा राजु रिजालले १६ रनको योगदान दिए । बरदगोरीया गाउँपालिकाका लागि रोशन रावलले २ विकेट लिँदा अन्य बलर विकेटविहिन भए ।
यसअघि टस जित्दै पहिला ब्याटिङ गरेको बरदगोरीया गाउँपालिकाले १८.१ ऋोभरमा सबै विकेट गुमाउँदै मात्र ९० रन बनाउन सक्यो । उस्का लागि दिपक कुडमालले सर्वाधिक २२ रन बनाउनु बाहेक अन्य ब्याटरले बिर्सनलायक प्रर्दशन गरे । आलिताल गाउँपालिकालाई जित दिलाउन निराजन गौतम एक्लैले ४ विकेट चट्माए । मात्र २.१ ओभर बलिङ गरेका गौतमले १० रन खर्चिदै ४ विकेट लिएका हुन । अलराउण्ड प्रर्दशन गरेका गौतम म्यान अफ दी म्याच पनि चुनिए । निरज ऐर,दिपक टमाटा र कप्तान दिल बोहराले समान एक एक विकेट लिए ।
मंगलबार हुने धनगढी उपमहानगरपालिका र आलिताल गाउँपालिका बीचको विजेता टोली सेमिफाइनल पुग्ने चौथो टोली बन्नेछ ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगीता चैत्र ५ गतेसम्म सञ्चालन हुनेछ भने सुदूरपश्चिम प्रदेशका १२ स्थानीस्य तहका टोलीहरु सहभागी छन । प्रतियोगीताको विजेता टोलीले नगद ३ लाख र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगीताकौ सर्वोत्कृष्ट खेलाडीले नगद रु २० हजार ट्रफी,उत्कृष्ट बलर ,उत्कृष्ट ब्याटरलाई जनही १५÷१५ हजार र ट्रफी, उदयमान खेलाडीलाई नगद रु १० हजार र ट्रफी प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद रु २ हजार प्राप्त गर्ने जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।