निकुञ्जमा सिकार खेल्न गएका ६ जना बेपत्ता
बर्दियाः बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ६ जना स्थानीय विगत ११ दिनदेखि बेपत्ता भएका छन्।
गत फागुन २३ गते निकुञ्जको घना जङ्गलतर्फ लागेका उनीहरू सोमबारसम्म पनि घर नफर्किएपछि घटना सार्वजनिक भएको हो। बेपत्ता हुनेमा सुर्खेतको वराहताल गाउँपालिका–१, ज्यामिरेका २५ वर्षीय रेसम सम्सेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील सम्सेली र टोपबहादुर खत्री रहेका छन्। त्यस्तै सुर्खेत लेकबेँसी नगरपालिका–गँगटे घर भई हाल बर्दिया बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिँजाली पनि उहाँहरूसँगै बेपत्ता भएका हुन्।
लामो समयसम्म समूहका कोही पनि सम्पर्कमा नआएपछि टोपबहादुर खत्रीका भिनाजु आसे महतराले सुर्खेत प्रहरीलाई जानकारी गराएका थिए। सुर्खेत प्रहरीले यसबारे बर्दिया प्रहरीलाई समन्वयका लागि पत्राचार गरेपछि मात्रै घटना बाहिर आएको हो। वराहताल गाउँपालिकाबाट झन्डै १७ किलोमिटरको दुरीमा निकुञ्जको सीमा क्षेत्र पर्छ।
घटना सार्वजनिक भएलगत्तै निकुञ्ज प्रशासन र सुरक्षा निकायले खोजी कार्यलाई तीव्रता दिएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले रातामाटे भन्ने स्थानबाट उनीहरू निकुञ्ज पसेको अपुष्ट जानकारी आएको र यसबारे थप अनुसन्धान भइरहेको बताए।
यस्तै बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले सञ्चार माध्यममार्फत घटनाको जानकारी पाएको बताउँदै निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र कर्मचारीको टोलीले खोजी कार्य सुरु गरिसकेको जानकारी दिए। निकुञ्ज जस्तो संवेदनशील र प्रतिबन्धित क्षेत्रमा अनुमतिबिना प्रवेश गरेका उनीहरू जङ्गली जनावरको आक्रमणमा परेका हुन् वा सुरक्षा घेराबाट बच्न लुकिरहेका हुन् भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।