सुदूर नेपाललाई विश्वसँग जोड्दै

'न्यायाधिशलाई झुक्याएर डिएफओ भट्टलाई हिरासतमा राख्न पाँच दिनको म्याद थप'

२०८२ चैत्र ४, ०५:४१ नारायण अवस्थी

धनगढीः मुख्यमन्त्री कमलबहादुर शाहलाई पाँच लाख घुस मागेको आरोप लगाएपछि पक्राउ परेका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई पाँच दिन प्रहरी हिरासतमा राख्न म्याद थप भएको छ। चैत २ गते मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा  भट्टलाई पक्राउ गरिएको थियो।

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका भट्टलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न कैलाली अदालतले बिहान १० बजे नै म्याद थप गरेको हो। प्रहरीको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न चैत ८ गतेसम्मको म्याद थप गरिएको डिएफओ भट्टका तर्फबाट कानुनी बहस गरिरहेका अधिवक्ता गम्भीरसिंह ऐरले बताए।

प्रहरी थुनामा रहेका व्यक्तिलाई थप अनुसन्धान गर्न समय माग भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ अनुसार म्याद थप हुनुपर्ने भए पनि डिएफओ भट्टलाई न्यायाधिश समक्ष उपस्थित नै नगराई म्याद थपिएको अधिवक्ता ऐरले बताएका छन्। भट्टका आफन्तले समेत म्याद थपका लागि प्रहरीले भट्टलाई न्यायाधिश समक्ष उपस्थित नगराएको दाबी गरेका छन्। उनीहरूले प्रहरीले झुक्याएर बुधवार बिहानै पाँच दिन हिरासतमा राख्ने म्याद थप गराएको दाबी गरेका छन्।

तर जिल्ला सरकारी वकिल कार्यालय कैलालीका न्याधिवक्ता देवराज भारतीले भने प्रहरीले भट्टलाई म्याद थप्ने प्रयोजनका लागि बुधवार बिहानै सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको दाबी गरेका छन्। तर, भट्टका वकिल र आफन्तले भने प्रहरीले न्यायाधिशसमेतलाई झुक्याएर अदालतमा उपस्थित नै नगराई पाँच दिन हिरासतमा राख्ने म्याद थप गराएको दाबी गरेका छन्।

प्रहरीले न्यायाधिशलाई झुक्यायोः अधिवक्ता ऐर
डिएफओ भट्टका कानुन व्यवसायी अधिवक्ता गम्भीरसिंह ऐरले प्रहरीले भट्टलाई अदालतमा उपस्थित नगराएरै म्याद थप गराएको बताएका छन्। उनले न्यायाधिशलाई समेत प्रहरीले झुक्याएको जिकिर गरेका छन्। यता जिल्ला अदालत कैलालीका सूचना अधिकारी पंकज उपाध्यायले भने प्रहरीले म्याद थप्न थुनामा रहेको व्यक्तिलाई अदालत समक्ष उपस्थित गराउनुपर्ने बताएका छन्। उनले भट्टलाई अदालतमा उपस्थित नै नगरी बिहानै पाँच दिनको म्याद थपेको बताएका छन्।

यो समाचार तयार गर्दासम्म भट्टलाई अदालत समक्ष पेस नगरेको प्रहरीले साँझ पाँच बजे मात्रै अदालतमा लगेको छ। अदालतमा उपस्थित नै नगराई म्याद थप गरेको विषय सार्वजनिक हुने डरले कार्यालय समय सक्किएपछि भट्टलाई अदालत समक्ष उपस्थित गराइएको अधिवक्ता ऐरले बताए। सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवराज भारतीले ५:१२ मा दिनेशखबरलाई फोन गरेर भट्लाई प्रहरीले सरकारी कार्यालयमा र अदालतमा उपस्थित गराएको जानकारी दिए।

यो समाचार तयार गर्न सुरुमा म्याद थपको विषयमा सोधखोज गर्दा जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले भट्टलाई बुधवार बिहानै अदालतमा उपस्थित गराएर म्याद थप भएको बताएका थिए। उनले अदालतमा भट्टलाई बुधवार बिहानै पेस गरेको बताए पनि जिल्ला सरकारी वकिलको कार्यालयले भने साँझ पाँच बजे मात्रै भट्टलाई अदालतमा पेस गरिएको जानकारी दिएको छ।

अदालतमा भट्टलाई उपस्थित नगराएरै म्याद थप गरिएको विषय सार्वजनिक हुने डरले प्रहरीले बिहानै म्याद थप गर्न लगाएर साँझ मात्रै उनलाई जिल्ला अदालतमा पेस गरेको दाबी अधिवक्ता भट्टले गरेका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस