सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा सांसदको शपथ चैत १२ गते, सचिवालयद्वारा उपस्थितिका लागि सूचना जारी

२०८२ चैत्र ६, ०२:२२ खबर संवाददाता

काठमाडौँः संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय गरिएको छ।

शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य ल्याउनुपर्ने सचिवालयले जनाएको छ।

सचिवालयले सहभागीहरूलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ।

नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार शपथको व्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी त्यसको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

साथै, देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि सम्बन्धित जिल्लाका प्रतिनिधिसभा सदस्यहरूलाई यसबारे जानकारी गराउन समन्वय गर्न अनुरोध गरिएको सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस