सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

२०८२ चैत्र ६, ०४:४८ रासस

बाजुरा: अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरेको छ। जिल्लाको बूढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीया खगिन्द्र भाटलाई बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरेका हुन्।

भारतको मुम्बईमा रोजगारी गर्दै आउनुभएका खगिन्द्र भाटलाई मुम्बईको बेलपुरामा सन् २०१८ मा रेल दुर्घटना हुँदा दुईवटै खुट्टा गुमाउनु परेको थियो। दुर्घटनाबाट बाँचेका भाटले आफूसँग भएका नेपाली नागरिकताको प्रमाणपत्रसहित अन्य आवश्यक कागजातसमेत हराए। 

दुर्घटनापछि रोजगारी गुमाएका कारण उहाँ स्वदेश फर्किए। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्म बसमा आएका भाट दुर्गम तथा विकट आफ्नो गाउँमा हिँड्डुल गर्न नसक्ने भएपछि पुनः धनगढीमा कोठा भाडामा बस्दै आएका छन्। रेल दुर्घटनामा नागरिकता हराएपछि उनी राज्यबाट पाउने सुविधाबाट समेत वञ्चित हुँदै आएका थिए। राज्यबाट प्राप्त हुने सेवा सुविधा लिनका उनका बुबाले वडाको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाणपत्रको अभावमा भोगिएको समस्या वारे प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई जानकारी गराए। सो समस्या समाधानका लागि प्रजिअ निरौलाले भाटलाई घरमै पुगेर नागरिकताको प्रतिलिपि दिनुभएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए। 

उनका अनुसार नागरिकता प्रमाणपत्रबाट वञ्चित हुन नदिने गरी वडाको सिफारिस र भाटको बुबाको आग्रहपछि प्रमुख जिल्ला अधिकारी निरौलाले घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालयले अशक्त, असहाय, वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई घरमै पुगेर सेवा दिने गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। उनका अनुसार अशक्त तथा सेवासम्म पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर सेवा प्रदान गरिएको हो। राज्यको सेवा सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यताअनुसार हामीले धनगढीमै पुगेर नागरिकताको प्रतिलिपि दिएको उनले बताए। 
    
वडाको सिफारिस र हाम्रो आग्रहपछि स्थानीइ प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै घरमै पुगेर प्रतिलिपि वितरण गरिएको खगिन्द्रका बुबा मदनबहादुर भाटले जानकारी दिए। 

    राज्यको यस्तो पहलले सेवाप्रवाहलाई प्रभावकारी र समावेशी बनाउने गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो, अशक्त र पहुँचबाट टाढा रहेका नागरिकसम्म पुग्ने यस्ता कामले राज्यप्रतिको भरोसा बढाएको छ । 

    दुर्गम बाजुराबाट ३०० किलोमिटर टाढा धनगढीसम्म पुगेर सेवा दिन स्थानीय प्रशासनको सक्रियता र संवेदनशीलताको यो एउटा अनुपम उदाहरण हो । यसले सेवा लिन असमर्थ नागरिकका लागि राज्यको उपस्थिति अझ नजिकबाट अनुभूत गराएको छ नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले बताउनुभयो । 

कमेन्ट लोड गर्नुस