जेन–जी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न रक्षा बमको माग
धनगढी: धनगढीमा नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्।
उनले शुक्रबार फेसबुकमार्फत प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराउँदै प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेकी हुन्। आफू र अन्य युवाहरूमाथि लागेका गम्भीर आरोपहरूको सत्यता स्पष्ट पार्न प्रतिवेदन सार्वजनिक हुनु आवश्यक रहेको उनले बताएकी छिन्।
बमले जटिल परिस्थितिमा देशको नेतृत्व सम्हालेर निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै वर्तमानमा युवाहरूले सडक र सामाजिक सञ्जालमा भोग्नुपरेको दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेकी छन्।
आफूमाथि लागेका आरोपका कारण मानसिक र सामाजिक दबाब खेप्नुपरेको उल्लेख गर्दै उनले आरोपहरूको सत्यता थाहा पाउन चाहेको बताएकी छन्। “मेरो हातमा रगत लागेको छ कि छैन, मैले सिंहदरबार जलाएको हो कि होइन, र म कतैबाट परिचालित छु कि छैन—यी सबै प्रश्नहरूको उत्तर म जान्न चाहन्छु,” उनले लेखेकी छन्।
फेसबुक इनबक्स र कमेन्टहरूमा सुरुदेखि नै अपमानजनक व्यवहार र आरोपहरू सामना गर्दै आएको उल्लेख गर्दै उनले अब व्यक्तिगत स्पष्टीकरण मात्र पर्याप्त नहुने बताएकी छन्। पीडितहरूको आवाज समयमै सम्बोधन गरिनुपर्ने उनको भनाइ छ।